विदेश भासिएका वडाध्यक्षलाई फर्काउन स्थानीयको हारगुहार

विदेश भासिएका वडाध्यक्षलाई फर्काउन स्थानीयको हारगुहार
सुन्नुहोस्

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैँचाका स्थानीयले विदेश भासिएका वडाध्यक्ष दिलप्रसाद वोखिमलाई फर्काउन माग गरेका छन् । 

एक वर्षदेखि वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा प्रभावित भएपछि मर्कामा परेका स्थानीयले उनको खोजीका लागि वडा कार्यालयलाई आग्रह गरेका हुन् । वडा सदस्य अम्बी साउदेनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वोखिम गत कात्तिक २४ गते हङकङ गएका थिए । तर, अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन् ।

वडाध्यक्ष नहुँदा विकासको काम सुस्त भएको स्थानीयको गुनासो छ । ज्ञापनपत्रमा भनिएको छ,‘जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिविहिन अवस्था कस्तो हुन्छ ?’ स्थानीयले वडाध्यक्ष खोजेर नल्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

यता, गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले वडाध्यक्षसँग कुनै सम्पर्क नभएको बताए । ‘वडाध्यक्षसँग कन्ट्याक्ट छैन् । उहाँ कार्यवाहकको जिम्मेवारी दिएर जानुभएको हो । तर, लामो समय नफर्किनुभएपछि मैले निर्वाचन आयोगमा सम्पर्क गरे । आयोगले मृत्यु वा राजीनामा नदिएसम्म निर्वाचन गराउन नमिल्ने जानकारी दिएपछि हामी उहाँको पर्खाइमा बसेका छौं’, उनले भने । 

वडा नम्बर ३ की वडा सदस्य सितादेवी भट्टराईले स्थानीयले गुनासो गरिरहेको बताइन् । उनी भन्छिन्,‘स्थानीयले कामलाई लिएर गुनासो गरिरहनुभएको छ । कार्यवाहकलाई जिम्मेवारी दिएको भएपनि केही असर पर्छ नै । तर, हामी सक्दो खटिएका छौं । उहाँ आइदिनुभए हामीलाई पनि सहज हुने थियो । बीचमा एकपटक फोन गरेर आउँछु भन्नुभएको थियो । त्यसपछि  कुरा भएको छैन् ।’

विदेश भासिएका वोखिम गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । उनी वैदेशिक रोजगारीका लागि हङकङ गएको बताइएको छ ।  

टिप्पणीहरू