टेरामक्स अन्तिम, पोखरा शून्य

टेरामक्स अन्तिम, पोखरा शून्य
सुन्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा अख्तियारबाट छानबिन टोलीको प्रतिवेदन बुझाउने तयारी करिब–करिब अन्तिम चरणमा पुगेको बुझिएको छ । 

यसबीच, नागरिक उड्डयन प्राधिकरणका डिजी प्रदीप अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करोडौं रकम घोटाला गरी राष्ट्रघात गरेको आरोप लागे पनि उनीविरुद्धको छानबिनलाई अख्तियारले अझै टुंग्याउन सकेको छैन । 

स्रोतका अनुसार भ्रष्टाचारविरोधी निकायका अधिकृतहरूले अधिकारीकी श्रीमती नेपाली सेनामा कार्यरत रहेको र सारा सम्पत्ति उनैका नाममा रहेकाले मुद्दा विशेषमा दर्ता गर्न अप्ठ्यारो परेको अवस्था छ । सेनाका मान्छेको सम्पत्तिबारे सेनाले नै छानबिन गर्नुपर्ने र त्यो काम सेनाले नगर्ने भएकाले आपूmहरूले केही गर्न नसक्ने भन्दै टक्टकिएको अवस्था छ । 

अधिकारीसँगै पोखरा विमानस्थलको निर्माणमा भ्रष्टाचार गरे नगरेको विषयमा छानबिन अघि बढाउँदा तत्कालीन वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केवल भण्डारीदेखि लिएर तत्कालीन अर्थसचिव शंकर अधिकारीसम्म तानिने बताइन्छ । 

त्यसो त प्राधिकरणको भवन निर्माण, जनकपुर विमानस्थलको अनियमिततालगायत विभिन्न प्रकरणमा जोडिएका अधिकारीले सांसदहरूलाई ‘गधा’ सम्म भनेको अवस्था छ ।  यसका पछि मन्त्री फेर्नेसम्मको ल्याकतले काम गरेको बुझिन्छ । स्रोतका अनुसार आफूविरुद्ध लाग्ने तत्कालीन पर्यटनमन्त्री सुदन किरातीलाई उनले दोहोर्‍याएर मन्त्री हुनै दिएनन् ।

अर्कोतर्फ अर्का मन्त्री धनबहादुर बूढासँग भने कतिपय ठेक्कामा पार्टनरसिपमैं काम गरेको दावी पनि गरिँदै छ । नविन बस्नेतमार्फत् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ओली कप क्रिकेट म्याच प्रायोजन गरी खुशी पार्ने ल्याकत पनि उनैसँग छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू