आफूलाई घेराबन्दीमा पार्न थालिएको प्रधानमन्त्रीद्वारा बूढानीलकण्ठमा खुलासा

आफूलाई घेराबन्दीमा पार्न थालिएको प्रधानमन्त्रीद्वारा बूढानीलकण्ठमा खुलासा
सुन्नुहोस्

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनमा लम्केको मुलुक सञ्चालनमा भाँजो हाल्ने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनको सारथि एमालेलाई कमजोर पार्न प्रतिक्रियावादीहरू दिनरात खटेको उल्लेख गर्नुभएको छ। 

राजधानीको बूढानीलकण्ठस्थित  पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेपछि सोही होटलमा आयोजित एमाले कार्यशालालाई सम्बोधन गर्दै उहाँले आफूहरुलाई घेराबन्दीमा पार्न थालिएको उल्लेख गर्नुभयो । भन्नुभयो, ‘अहिलेको परिस्थिति जटिल छ, हामीविरुद्ध घेराबन्दी छ । परिवर्तन विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।’

उहाँले आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । माओवादी केन्द्रको मत र लोकप्रियता घट्दो क्रममा रहेको प्रधानमन्त्रीको दावी छ । उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्छ होला ।’

प्रधानमन्त्री ओलीले आफूले नेपाललाई नयाँ ढंगले अघि बढाउन चाहिरहेको खुलासा गर्नुभयो । त्यसैले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्ननपर्ने उहाँको भनाई छ । फाइल रोकेर काम अड्काउने प्रवृत्ति रोक्न फाइल ट्रयाकिङ सिस्टम अपडेट गरिएको र फाइलमा क्युआर कोड ट्र्याकिङ राखिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले सरकारको तर्फबाट पाउने सुविधामा अबका दिनमा घुस खुवाउनु नपर्ने बताउनुभयो । एक अर्को प्रसंगमा प्रधानमन्त्रीले भन्नुभयो, ‘एक खालका मानिसहरूबाट नकारात्मक महौल खडा गर्ने कोशिस भइरहेको छ । झुट, भ्रम, र षड्यन्त्रको सहारा लिएर उल्टो प्रचार गरिँदै छ ।’

टिप्पणीहरू