आरजुले पेल्दा सेनालाई संकट

आरजुले पेल्दा सेनालाई संकट
सुन्नुहोस्

बिचौलियाको लहै–लहैमा परेर कमिशनको खेलमा लाग्दा नेपाली सेनालाई करोडौँ चुना लागेको छ । राजनीतिक नेतृत्वको आडमा बिचौलियासँग सेटिङ मिलाएर अनधिकृत कम्पनीलाई हेलिकोप्टर मर्मतको जिम्मा दिँदा सेना यस्तरी फसेको हो । 

आरएन ५६ कलसाइन भएको सैनिक हेलिकोप्टर एक वर्षअघि मर्मतका लागि भारतको मुम्बईस्थित एक कम्पनीलाई जिम्मा दिइएको थियो । हेलिकोप्टर निर्माण गरेको रसियन कम्पनीले अनधिकृत ठाउँमा मर्मत नगराउन सुझाव दिँदादिँदै जबर्जस्ती लगिएको हेलिकोप्टर एक वर्ष मुम्बईको बन्दरगाहमा घाममा सुकाएर राखियो । अन्ततः पार्टपुर्जा उपलब्ध नभएको भन्दै मर्मत नगरिएपछि हेलिकोप्टर लिन पुगेका दुई पाइलट लेफ्टिनेन्ट कर्नेल किरण थापा र शंकर कटुवालले एक महिना भारत बसेर गत साता रित्तो हात फर्किनुपर्‍यो । 

हेलिकोप्टर एक वर्षदेखि भारतमा थन्किएको अवस्था एकातिर छ भने अर्कोतिर सेनाले मर्मतका लागि ४२ करोड रकम निकाशा गरिसकेको छ । उच्च सैनिक स्रोतका अनुसार हालका परराष्ट्रमन्त्री तथा कांग्रेस नेत्री आरजु राणा देउवाले भाइ भुषणमार्फत प्रधानसेनापति प्रभुराम शर्मालाई दबाब दिएर प्रशान्त राणा बिचौलिया रहेको अनधिकृत कम्पनीलाई हेलिकोप्टर मर्मतको जिम्मा दिँदा यो अवस्था आएको हो । 

यता, त्यही कम्पनीमा मर्मतका लागि पठाउन लागिएको एनए ५७ कलसाइन भएको अर्को हेलिकोप्टर यतै रोकिएको छ । ८८ करोड लागतमा मर्मत गर्न लागिएको हेलिकोप्टरको पार्टपुर्जा खोलिसकिएको छ । ‘रसियन कम्पनीले अथोराइज्ड एजेन्ट हैन भन्दाभन्दै पोहोर एउटा त्यत्तिकै लगे । एक वर्ष थन्काएर अहिले मर्मत नहुने कुरा आयो । यहाँ खोलखाल पारेको हेलिकोप्टर के हुने हो थाहा छैन’, सैनिक स्रोतले चिन्ता जनायो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू