सहकारी ठगीमा रविलाई दोषी औल्याउँदा समितिले टेकेका आधार

सहकारी ठगीमा रविलाई दोषी औल्याउँदा समितिले टेकेका आधार

संसदीय छानविन समितिले सहकारीको रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको छ । 

समितिले तीन महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदन आजको प्रतिनिधि सभामा पेश गर्दैछ । त्यसनिम्ति आज बस्ने बैठकको कार्यसूचीमा राख्न संसद सचिवालयलाई खबर पठाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । 

देशभर सहकारीको सञ्जाल खडा गरी रकम हिनामिना गर्ने जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक हुन्, लामिछाने । विभिन्न सहकारीबाट उक्त कम्पनीमा आएको रकम खर्च गर्ने प्रक्रियामा उनको संलग्नता समितिले ठहर्याएको छ ।  

सहकारीबाट गोर्खा मिडियामा ल्याइएको कराडौँ रकम खर्च गर्नमा लामिछानेको प्रमुख भूमिका रहेको पाइएको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए । गोर्खा मिडियाको प्रवन्ध निर्देशक रहुन्जेल उनले विभिन्न सहकारीबाट ल्याइएको ६५ करोड कारोबार गरेको खुलेको छ । 

‘विभिन्न सहकारीबाट गोर्खा मिडियामा जे जति पैसा आयो, त्यो सबै जिबी राईमार्फत आएको छ । जिबीले नै फरक-फरक समयमा गोर्खा मिडियाको बैंक खाता, रविजी र छविलालजीको बैंक खातामा पैसा ट्रान्सफर गरेको पाइएको छ’, दाहालले भने, ‘र गोर्खा मिडियामा आएको पैसालाई परिचालन गर्ने, प्रयोग गर्ने काममा चाहिँ रविजीको मुख्य भूमिका देखिएको छ । यसमा हामीले जिबीले गरेको गल्ती र रविजीको गल्तीलाई फरक-फरक प्रकृतिको कारवाही हुनुपर्छ भन्ने प्रतिवेदन तयार पारेका छौ ।'

गोर्खा मिडियाभित्र भएको आर्थिक कारोबार पनि नियमपूर्वक नदेखिएको दाहालले बताएका छन् । त्यसमा पनि लामिछाने नै दोषी देखिएको उनको भनाइ छ ।   

‘विभिन्न तथ्य र प्रमाणहरुले गोर्खा मिडियाभित्रको आर्थिक कारोबार पनि नियमसम्बद्ध देखिदैन । विभिन्न बैंकका चेक, हस्ताक्षर, डिपोजिट भौचर रसिद, शेयर लेनदेन लगायतका कामहरु कानूनी ढंगले भएको छैन’, उनले भने । 

समितिले गोर्खा मिडियामा रविकै भाषामा उनले प्राप्त गरेको ‘स्वेट शेयर’को वैधानिकतामाथि पनि प्रश्न उठाएको छ ।

टिप्पणीहरू