मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

नेकपा (एमाले)काले एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध देशद्रोहको मुद्धा लगाउन माग गरेको छ । 

चौधरीले अघिल्लो साता एक मिडियामा दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको जिकिर गर्दै आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्यप्रसाद ढकालले त्यस्तो माग गरेका हुन् । 

चौधरीले ‘कालापानी र लिपुलेक भारतको भूगोलमा पर्छ, भारतको दावी पुग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ पेश गर्दै ‘ती भूगोल नेपालमै पर्छ’ भन्न खोजेको तर जिब्रो चिप्लिएको बताएका थिए । 

एमाले सांसद ढकालले आजको प्रतिनिधि सभामा सोही कुरा उठाउँदै राष्ट्रघाती अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गरेका हुन् । 

‘एक जना माननीयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हैन, यो भारतको हो, भारतको दावी जायज छ भनेको सनियो’, उनले भने, ‘यो संविधानविरोधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति म खेद व्यक्त गर्न चाहन्छु । यो अभिव्यक्ति राष्ट्रघाती कुरा हो । संविधानविरोधी कुरा हो । देशद्रोही कुरा हो । सदनबाट सर्वसम्मत पास भएको, संविधान संशोधन गरेर अनुसुचीमा उल्लेख भएको विषयलाई नेपालको भूगाग हैन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गर्छु ।’ 

उनले सभामुख देवराज घिमिरेलाई पनि यो विषयमा गम्भीर हुन आग्रह गरे । भने, ‘यो विषयालाई सदनले पनि गम्भीर रुपमा लिएर छानविन गरोस् ।’

टिप्पणीहरू