जीबी राई यता र उता

जीबी राई यता र उता
सुन्नुहोस्

आफूलाई गृहमन्त्री बनाए सात दिनभित्र जीबी राई पक्रेर देखाइदिन्छु भन्ने गृहमन्त्रीज्यू आएर पनि गइसके । तर, राईलाई भने पक्रन सकेको छैन ।

सायद त्यसो भन्ने मान्छेलाई अब प्रधानमन्त्री बनाइदिएचाहिँ पक्रेला कि ? जीबी राईलाई समाउनु कुनै चानचुने कुरा पनि त होइन ! गृहमन्त्री लेबलका मान्छेले उनलाई समाउन सक्दैन भन्ने त प्रमाणितै भइसक्यो । समाउने भनेको प्रधानमन्त्रीले मात्रै हो । के पूर्वगृहमन्त्रीज्यूलाई अब प्रधानमन्त्री नै बनाउने हो त ? 

यसैबीच जीबी राईबारे नयाँ कुरा पत्ता लाग्यो । उनलाई समाउन भनी प्रहरीको एउटा टोली सिंगापुर गएका बेला राईचाहिँ कान्तिपुरमै रहेछन् । प्रहरी सिंगापुरमा, राई कान्तिपुरमा । कुरा मिलाएरै यता र उता पारेको हो कि ? नभए राई कान्तिपुर आएकै बेला प्रहरी किन सिंगापुर गएको होला ? जो मान्छे कान्तिपुरमा छ उसलाई सिंगापुरमा पक्रन सकिँदैन । वास्तवमा प्रहरी ‘नसकिने’ नै मिसन लिएर सिंगापुर गएको रहेछ ।

त्यहाँ जीबी राई पक्रन सकेन । नसकेको राम्रै भयो । यदि, पक्रेको भए नक्कली पर्ने सम्भावना थियो । सक्कली कान्तिपुरमा थियो भने सिंगापुरमा पाइने त नक्कली नै होला नि ! हामीलाई नक्कली जीबी राई के काम ? नेपाल प्रहरी मिसन असफल भएपछि कान्तिपुर फर्केको छ । अबचाहिँ शायद राई सिंगापुरमा छ कि ? पूर्व गृहमन्त्रीज्यू के भन्नुहुन्छ ?  

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू