होस्टेल म्यानेजरद्वारा १४ युवतीमाथि यौन शोषण

होस्टेल म्यानेजरद्वारा १४ युवतीमाथि यौन शोषण
सुन्नुहोस्

भारतमा होस्टेलका म्यानेजरले एक दर्जन युवतीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । 

आन्ध्र प्रदेशस्थित एलुरुमा रहेको महिला होस्टेलका म्यानेजर शशी कुमारबाट १४ युवती यौन दुर्व्यवहारको शिकार भएको घटना होस्टेलमै बस्दै आएकी एक युवतीले प्रहरीमा उजुरी दिएपछि बाहिरिएको हो । 

यौन दुर्व्यवहारमा परेका अधिकांश युवती १८ वर्ष मुनिका रहेको एलेरु प्रहरी स्टेसनका इन्सपेक्टर वाइभी रामनलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचारका अनुसार फोटो स्टुडियोसमेत सञ्चालन गरेका शशीले होस्टेलमा बस्न आउने युवतीलाई निःशुल्क फोटोशुटको प्रस्ताव गरेर उनले आफ्नो जालमा पार्दै आएका थिए। 

सोही क्रममा आइतबार उनले एक युवतीलाई फोटोशुटको लागि स्टुडियो पुर्याएका थिए । त्यसपछि युवतीको शरिरमा छुने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीले उजुरी दिएपछि शशीविरुद्ध थप पाँच जनाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । 

एलुरु प्रहरीका डिएसपी श्रवण कुमारले अहिलेसम्म छ जना युवतीहरुले शशीविरुद्ध उजुरी दिएको बताए । उनले भनेका छन्, ‘उसले फरक फरक समयमा १४ जना युवतीमाथि यौन दुर्व्यवहार गरेको पाइएको छ । जसमध्ये छ जनाले दिएको उजुरी दर्ता भइसकेको छ ।’ 

अहिले शशी कुमारलाई नियन्त्रणमा लिएर बालयौन शोषण र यौन दुव्र्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । चार वर्षअघि सञ्चालनमा आएको उक्त होस्टेलमा ४५ जना बालिका र युवती बस्दै आएका छन् । तीमध्ये २६ जना कक्षा १२ भन्दा मुनिका विद्यार्थी हुन् ।

 

टिप्पणीहरू