संविधान जारीपछि नाकाबन्दी हामीले गरेको हो, भारतले हैन : राजेन्द्र महतो

संविधान जारीपछि नाकाबन्दी हामीले गरेको हो, भारतले हैन : राजेन्द्र महतो
सुन्नुहोस्

वर्तमान संविधानअन्तर्गत पटक–पटक सांसद र उपप्रधानमन्त्रीसम्म भएका राजेन्द्र महतोले कहिले संविधान जलाउने त कहिले च्यात्ने गर्दै आएका छन् । २०७२ साल असोज ४ गते संविधान जारी हुँदा तराई–मधेसमा आन्दोलनको नेतृत्व गरेका उनले वीरगञ्जस्थित नाकामा धर्ना दिएर आपूर्ति व्यवस्था अवरुद्ध पार्न प्रमुख भूमिका खेलेका थिए । त्यसयता हरेक वर्ष संविधान घोषणा भएको दिनलाई उनले ’कालो दिवस’ का रुपमा मनाउने गरेका छन् ।   

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा १३ दिन उपप्रधानमन्त्री भएका महतो संविधानलाई नश्लवादी, पहिचानविरोधीर विभेदकारी दस्तावेज भन्छन् । त्यसकारण संविधान पुनर्लेखन हुनुपर्नेमा जोड दिँदै आएका उनी अहिले मूलधारको राजनीतिबाट टाढा छन् । तर, संविधानप्रतिको उनको असन्तुष्टि झन् बढ्दो छ । 

यसैबीच हिजो संविधान दिवसको दिन हामीले संविधान दिवस कसरी मनाउँदै हुनहुन्छ ? भनेर प्रश्न गर्दा शुरुमै उनले भने, ‘हाम्रो लागि त कालो दिवस हो !’ नयाँ पार्टी घोषणापछि कार्यसमिति बैठकमा व्यस्त भेटिएका उनले संविधान विभेदपूर्ण रहेकाले कुनै हालतमा स्वीकार गर्न नसकिने जवाफ दिए । 

नेपाल बहुराष्ट्रिय पहिचानयुक्त मुलुक भएकाले संविधान पनि सोहीअनुसार पुनर्लेखन गर्नुपर्ने महतोको प्रष्ट बटमलाइन छ । ‘यो संविधान संशोधन हैन पुनर्लेखन हुनुपर्छ, हामी त्यसका लागि संघर्ष गरिरहने छौं’, उनले भने ।  

संविधान जारी हुँदाका बखत मधेसको एउटा महत्वपूर्ण शक्तिका रुपमा महतोको नाम आउँथ्यो । मधेसमा संविधान जलाउने, नाका–नाकामा धर्ना दिएर आपूर्ति व्यवस्था अवरुद्ध पार्ने कामको मुख्य नेतृत्व उनैले गरेका थिए । त्यसबेलाको घटना स्मरण गर्दै उनी भन्छन्, ‘जनताको छातीमा गोली ठोकेर जबर्जस्ती जारी गरिएको संविधान हामीले जलाएका हौँ । नाकाबन्दी गर्ने हाम्रो उद्देश्य थिएन, तर लाखौँ मधेसी जनता सडकमा उत्रेपछि कसको के लाग्छ !’

‘जसको लाठी उसको भैँसी’ भनेझैँ बहुमतको नाममा ठूला दलले मधेशी र जनजातिहरु आन्दोलनमा रहेका बेला जबर्जस्ती संविधान जारी गरेकाले आफूहरु बाध्य भएर मुलुकको प्रमुख नाकामा उभिन गएको महतोको तर्क छ । तर नेपालमा भारतले नाकाबन्दी लगाएको भन्ने गलतभाष्य स्थापित गर्न खोजिएकोमा उनले दुःखेसो पोखेका छन् ।

‘त्यतिबेला लाखौँ मधेसी जनता नाकाहरुमा थिए । विरोधको त्यो चरम रुप थियो । जनताले दुःख पाएका थिए । हामीले पनि दुःख पायौँ’, महतोले भने, ‘त्यसले आपूर्ति व्यवस्था अवरुद्ध हुने स्थिति बन्यो ।’ तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण यस्तो अवस्था निम्तिएको जिकिर गरेका उनले काँग्रेस र एमालेले जनतासँग माफी माग्नुपर्ने बताए । 

आफूहरु आन्दोलनमा रहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरेको तर, नाकाबन्दीका लागि आग्रह नगरेको महतोको प्रष्टिकरण छ । ०४६ सालको जनान्दोलन र ०६२–०६३ मा पनि आन्दोलनकारीले भारतसँग सहयोग मागेको बताउँदै उनले भने, हामीले पनि सहयोगको आग्रह गरेका हौँ, यो लुकेको कुरा पनि होइन ।’

महतो अगाडि भन्छन्, ‘हल्ला गरेको जस्तो पूरै नाकाबन्दी भएको भए त पूरै सप्लाई सिष्टम बन्द हुन्थ्यो नि, तर त्यस्तो त भएन । त्यसकारण यदि नाकाबन्दी भएकै मान्ने हो भने पनि त्यो हाम्रो कारणले नभई सत्तामा बस्नेहरुका कारण हो ।’ आन्दोलनकारीलाई वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्नेमा त्यसबेलाको सरकारले सेनासमेत परिचालन गरेर लखेटी–लखेटी नाकामा पुर्याएको उनले बताए । 

संविधानको अन्तरवस्तुमै आफूहरुको असहमति रहेकाले अन्य कुरामा धेरै बहस गर्नु आवश्यक नभएको महतोको धारणा छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै बेला बहुराष्ट्रिय पहिचान स्वीकारिएको तर अहिलेका शासकले भने एकल जातीय राज्य चलाएको उनको आरोप छ । एकल जातीय बर्चस्व, नश्लवादी चिन्तन अनुकूल शासन चलाउनेगरी संविधान बनाएकाले आफूहरु विद्रोहमा उत्रिएको उनले बताए ।  

संविधानको अन्तरवस्तु पुनर्लेखन नभए यसअघिका छ वटा जस्तै मौजुदा संविधान पनि नष्ट हुने महतोले चेतावनीसमेत दिएका छन् । ‘अरुको पहिचान नामेट गरेर बनाइएको यो संविधान त्रुटिपूर्ण छ भन्ने हाम्रो मत रहँदै आएको छ । अहिले संविधान संशोधन गर्न काँग्रेस र एमाले तयार हुनुले पनि हामीले भन्दै आएको कुरा ठीक थियो भन्ने पुष्टि भएको छ’, उनले भने । 

अरुलाई झैँ उनलाई पनि संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन मन नलागेको होइन । तर, जनताको छातीमा बुट बजारेर घोषणा गरिएको संविधानमै खोट रहेको भन्दै चाहेर पनि दीपावली गर्न नसकेको बताउँछन् उनी । पृथ्वीनारायण शाहले सबैको साझा फूलबारी भनेको देशमा आज आदिवासी जनजाति र मधेसी जनता विभेदमा परेकोमा चिन्ता जनाउँदै भन्छन्, ‘यसको अन्त्य त गर्नैपर्छ, नत्र जनताले अर्को आन्दोलन गर्छन् ।’
 

टिप्पणीहरू