प्रधानमन्त्रीको टोलीमा १७ जना, बिदाईमा तीन दर्जन

प्रधानमन्त्रीको टोलीमा १७ जना, बिदाईमा तीन दर्जन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान गर्नुभएको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ भर्खरै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको क्युआर-६५३ नम्बरको उडानमार्फत मध्याह्न १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दोहा हुँदै न्यूयोर्कका लागि उडेको बताइएको छ । 

प्रधानमन्त्री नेतृत्वको १७ सदस्यीय टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्या सिंह, स्वकीय सचिव राजेश बज्राचार्य, एडीसी दिवाकर खड्का छन् । 

त्यस्तै, परराष्ट्रका उपसचिव प्रथमा उप्रेती, प्रोटोकल अफिसर प्रविन भट्टराई, प्रधानमन्त्रीका सुरक्षा अधिकृत नवीन कार्की, मेजर प्रसान्तबहादुर थापा र नेपाल टेलिभिजनका फोटोग्राफर प्रकाश सिलवाल पनि टोलीमा सामेल छन् । यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा उतैबाट न्युयोर्क जानुहुनेछ । 

प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल आगामी असोज १४ गते स्वदेश फर्कनेछ ।

प्रधानमन्त्रीलाई बिदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेसहित ठूलो संख्यामा उच्चपदस्थ अधिकारी, उपप्रधानमन्त्री विष्णु पौडेल, मन्त्रीहरु, एमाले नेता-कार्यकर्ता विमानस्थलमा पुगेका थिए । 

सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजय चौरसिया, कृषिमन्त्री रामनाथ अधिकारी, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडि,खानेपानीमन्त्री प्रदिप यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, भौतिक पूर्वाधार तथ यातायातमन्त्री देवेन्द्र दाहाल, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रधानमन्त्रीको विदाईका लागि एयरपोर्ट पुगे । 
 
त्यस्तै, एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, सचिव गोकर्ण बिष्ट, राधा ज्ञवाली, याङ्गजोङ शेर्पा र युवा संघका अध्यक्ष क्षितिज थेवे पनि ओलीको बिदाईमा सामेल भए । 

मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्रका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौँका सिडिओलगायत एयरपोर्ट पुगेका थिए ।
 

टिप्पणीहरू