कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिल्नु गल्ति थियो : प्रचण्ड

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिल्नु गल्ति थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहने शासकीय स्वरुपमा जानुपर्ने बताउनुभएको छ । 

प्रतिपक्षमा पुगेको करिब दुई महिनापछि टेलिभिजन अन्तर्वार्ता दिँदै उहाँले राजनीतिक स्थिरताका लागि शासकीय स्वरूप बदल्नुपर्ने धारणा राख्नुभएको हो ।अहिलेको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले भ्रष्टाचार बढेको प्रचण्डको तर्क छ ।

‘अहिले निर्वाचन लडेर सांसद हुने । सांसद भएपछि मन्त्री हुने । मन्त्री भएपछि कमाइ गर्ने ट्रेण्डमा गएको हुनाले सांसदहरुको किनबेच, छिटो-छिटो सत्ता परिवर्तन हुने समस्या छ’, उहाँले भन्नुभयो,  ‘र यसको कारण पनि अहिलेको निर्वाचन प्रणालीमा छ । हामी त पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भन्नेमा छौ । अनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्यो ।’
 
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले सांसदहरु मन्त्री हुने अहिलेको प्रणालीका कारण विधायिकी भूमिका कमजोर बनेको बताउनुभयो । यो सच्याएर सांसदहरुलाई कानुन निर्माणमा केन्द्रीत गराउन पनि प्रत्यक्ष निर्वाचित कार्यकारी जरुरी रहेको उहाँको भनाई छ । 

‘सांसदहरुको उद्धेश्य र मुख्य काम मन्त्री बन्ने हैन नि, ऐन कानुन बनाउने हो । विधायिकीको काम गर्ने हो', प्रचण्डले भन्नुभयो, 'अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मन्त्री बनाउछ । उसले राम्रो गरे ठिक छ, नभए पछि जनताले आफै सजाय स्वरुप हटाउछन् ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा देशको राजनीतिक सन्तुलन मिलाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आफूले नै राष्ट्रपतिको प्रस्ताव गरेको स्मरण गर्नुभयो । आफूमाथि लागेको अस्थिरताको आरोप खण्डन गर्दै उहाँले लोकतन्त्रको भविष्य सुरक्षित बनाउन संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति प्रस्ताव गर्ने निर्णय सही रहेको दावी गर्नुभयो ।  

‘मैले नगरेको भए अहिले उहाँ राष्ट्रपति हुनुहुन्थ्यो ? यो मात्रै हैन सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्षमा मैले ने सन्तुलन मिलाएको हैन ?', उहाँले भन्नुभयो, 'यी सबै पदमा एउटै पार्टीले कब्जा गरेको भए लोकतन्त्रको भविष्य कस्तो हुन्थ्यो ? यो कुरा बुझ्नुपर्छ । कुरा नबुझेर प्रचण्डले यता न उता गर्यो भन्नु वाहियात तर्क हो ।’

पौडेललाई राष्ट्रपति प्रस्ताव गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको व्यवहारको समीक्षा गर्नुपर्ने प्रचण्डको ठम्याई छ । ठूला दलहरुको कारण १८ महिनामा चार वटा गठबन्धन बनाउन बाध्य भएको बताउदै भन्नुभयो, ‘बरु मैले कांग्रेसलाई राष्ट्रपति दिउँ भन्दा केपी ओलीले समर्थन फिर्ता लिनु सहि थियो कि गलत थियो ? त्यो बहस गरौ न । देशको सबैभन्दा ठूलो पार्टीलाई पूर्णरुपले सत्ताबाहिर गर्दा देशको राजनीति के हुन्छ ? भन्ने चिन्ताले सन्तुलन मिलाउन गरेको हो नि मैले त । त्यो कुरा बुझ्नुपर्दैन ?’

माओवादीले पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नु चाहिं गल्ती भएको प्रचण्डको स्वीकारोक्ति छ । ‘कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग जोड्नुमा म चिप्लिएकै हो, यो स्वीकार गरेकै छु । म धोकामा परेको हो भनेकै छु’, उहाँको भनाई छ ।

टिप्पणीहरू