रविले मान्छे उराल्न खोजेपछि अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम रद्द

सुन्नुहोस्

हाल अमेरिका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द गरिएको छ ।

नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ । 

सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय परराष्ट्रमन्त्री अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

समाचार स्रोतका अनुसार कार्यक्रमस्थलमा प्रधानमन्त्रीमाथि रवि लामिछाने समर्थकहरुले जुत्ता र बोटलहरु फ्याँक्दै नाराबाजी गर्ने योजना बुनेको अमेरिकी सुरक्षा निकायलाई प्राप्त जानकारी महावाणिज्यदूतावासलाई उपलब्ध गराइएको थियो । त्यसलगत्तै उक्त कार्यक्रम रद्द गरिएको बताइन्छ ।

यता,हिजो बेलुकी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्ने डरले लामिछाने राति अबेरसम्म पार्टी कार्यालयभित्र बसेर केही नेता,सांसद र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा कार्यकर्तालाई बोलाई नाराबाजी गरेपछि राति साढे ९ बजे फेसबुक लाइभमा भाषण गर्दै नियन्त्रणमा लिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

टिप्पणीहरू