रविन्द्र मिश्रसँग प्रचण्ड दंग, अरुले अवमूल्यन गरेको दुःखेसो

रविन्द्र मिश्रसँग प्रचण्ड दंग, अरुले अवमूल्यन गरेको दुःखेसो
सुन्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संविधान सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको सम्झौता र सहमतिको दस्तावेज भएको बताउनुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वको संविधान निगरानी समूहले आयोजना गरेको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ बहस कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको छ ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेको संविधानलाई ‘प्रचण्ड संविधान’को संज्ञा दिनुभएको छ । संसदमा माओवादीको सिट संख्या थोरै भए पनि अहिलेको राजनीति प्रचण्डको वरपर घुमेको बताउँदै, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु । उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ ।’

अध्यक्ष प्रचण्डले भने मिश्रलाई ठट्यौलीमा पारामा सोध्नुभयो, ‘मिश्रजीले मेरो प्रशंसा गर्नुभएको हो कि आलोचना ? अस्ति पनि दरबारमार्गको नाम प्रचण्डमार्ग राखे हुन्छ, काँग्रेस एमालेले भन्नुभयो । कि काँग्रेस, एमाले र प्रचण्डको बीचमा लडाई पार्न खोज्नुभएको हो ?’

प्रचण्डले गम्भीर हुँदै भन्नुभयो, ‘यो प्रचण्डको संविधान होइन, नेपाली जनताकोे संविधान हो । यो संविधान सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच भएको सम्झौता र सहमतिको दस्तावेज हो । कुनै पनि संविधान तत्कालीन समाजको राजनीतिको सन्तुलनको दस्तावेन नै भएर निर्माण हुने गर्छन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान निर्माणमा निभाएको भूमिकाप्रति सँधै जिम्मेवार रहेको उल्लेख गर्नुभयो । स्मरण गर्दै भन्नुभयो, ‘राजनीतिक नेतृत्वको हिसाबले संविधान सभाको निर्वाचन गराउनेमा, सभाबाट संविधान बनाउनेमा भूमिका रहयो नै । मैले युद्धको नेतृत्व गरेर शान्ति सम्झौतामा रुपान्तरण गर्ने क्रममा, युद्धका जटिल र संवेदनशील मुद्दालाई जोखिमपूर्वक उठाएको हो । संविधान र शान्तिप्रति म जिम्मेवार छु ।’

यद्यपि, संविधानमा माओवादीको एजेण्डा स्थापित भएको महशुस हुनेगरी अभिव्यक्ति दिएको प्रचण्डले मिश्रलाई धन्यवाद दिनुभयो । ‘रविन्द्रजीलाई एक अर्थमा धन्यवाद चाहीँ भन्न चाहन्छु, यहाँ प्रचण्डको अवमूल्यन गर्ने प्रवृत्ति छ’, भन्नुभयो, ‘ठूला दलका कतिपयले संविधानमा प्रचण्डको छाया देखियो, समावेशीमा माओवादी, समानुपातिक माओवादी भनेको सुन्छु, आज तपाईंले सिधा सिधा भन्दिनु भयो, प्रचण्डकै हो भनेर । तर यो संविधान तपाईंले भनेजस्तो पनि होइन, नेपाली जनताकै संविधान हो ।’

टिप्पणीहरू