बेचविखन र तस्करीको शैली बदलिएपछि
अशिक्षा र रोजगारीको अवर नहुँदा, घरेलु हिंसा, घरमा श्रीमान् र परिवारले हेँला गर्ने, कुटपिट गर्ने, छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिला बेचविखन तथा अपराधमा संलग्न गराइने गरेको छ । मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी नहुने भएकाले यसको रोकथामका लागि चुनौती भएको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् ।
‘मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भएजस्तो हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ’, एसपी खड्काले भनिन्, ‘लिंगको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् । संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ । बेच्ने गिरोहले बेचिनेलाई फरक–फरक लालच दिएका हुन्छन् ।’ नेपालको परिप्रेक्ष्यमा डान्स बार, क्याबिन रेष्टुरेन्टलगायतमा पनि मानव बेचबिखन हुने गरेको छ । विवाह गरेको नाटक गरी विदेश पुर्याउने, सरोगेट मदर बनाउने, छाला झिक्ने र किड्नीलगायत अंग झिक्न पनि बेचिएको घटना भएको प्रहरीले बताएको छ । स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा मानव बेचविखन हुने गरेको प्रहरीले बताएको छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिने गरेको एसपी खड्काले बताइन् । बेचबिखन रोक्न समाजमा चेतना फैलाउन, विद्यालयदेखि नै बालबालिकालाई यसबारे शिक्षित गराउन, पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन, समाजमा तुरुन्तै लागू गर्न सकिने किसिमका पाठ्यसामग्री समावेश गर्न, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरबारे जानकारी गराउन सबै क्षेत्र सक्रिय हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
जिल्लामा मानव बेचविखन, ओसारपसार तथा जिउ मास्ने बेच्ने सम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये केहीको फैसला भइसकेको छ भने केही मुद्दा विचाराधीन छन् । पछिल्ला केही महिना जिल्लामा प्रहरीले होटल तथा रेस्टुरेन्टमा काम लगाउने प्रयोजनमा गलत क्रियाकलाप अर्थात् जिउ मास्ने बेच्ने कार्यमा संलग्न गराएको अभियोगमा होटल व्यवसायीलाई मुद्दा चलाइरहेको छ । मुद्दा दर्ता भएपछि पीडितहरूले भने बयान फेरिरहेका छन् । पछिल्लो पटक जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८१ भदौ ५ गते मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको मुद्दा दर्ता भएको छ । जसमा सविता भन्ने बविता नेपालीसहित दुई जना संलग्न छन् । अदालतले उक्त मुद्दामा संलग्न भनिएका अभियुक्तहरूलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ । उनीहरूले बालिकाहरूलाई जबजस्ती रूपमा होटल तथा रेस्टुरेन्टमा वेटरका रूपमा राखी यौन कार्यमा संलग्न गराएको अभियोग छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८० फागुन १० गते मानव बेचविखन तथा ओसार पसारमा मुद्दा दर्ता भयो । अन्तिम फैसला २०८१ वैशाख १६ गते भयो । जसमा अभियोग दाबी नपुग्ने ठहर भयो । प्रहरीले बदलावको भावनाबाट केही मुद्दा दर्ता गरेको नागरिक समाजका प्रतिनिधिले विश्लेषण गरेका छन्् । २०८० असोज १६ गते र २०८० भदौ ४ गते दर्ता भएका दुईवटा मुद्दामा पनि अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । ०८० जेठ २५ गते गते दर्ता भएको मुद्दामा अभियोगमा आंशिक दाबी पुग्ने फैसला भएको छ । ०८० वैशाख १२ गते दर्ता भएको मुद्दा अझै फैसला भएको छैन । ०७८ फागुन २२ पछि एकै पटक २०८० वैशाखमा मात्रै मुद्दा दर्ता भएको थियो । ०७८ सालमा एउटा, ०७७ सालमा एउटा र ०७६ सालमा २ वटा मात्रै मुद्दा दर्ता भएको अदालतको रेकर्ड छ । अधिकृत एवं सूचना अधिकारी हीराकुमारी भण्डारीले मानव बेचविखन तथा ओसार पसारसम्बन्धी मुद्दा सरल मार्ग, विशेष मार्ग र सामान्य मार्गबाट दर्ता हुँदै आएको बताइन् । पाँच वर्षको अवधिमा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको तथ्यांक ११ वटा मात्रै रहेको भण्डारीले जानकारी दिइन् । ११ वटामध्ये ५ वटामा दाबी नपुग्ने, एउटा फैसला हुन बाँकी, एउटामा आंशिक र अन्य केहीमा दोषी देखिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारमा लैजाने एजेन्टले पनि मानव तस्करी गर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । दलालको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जबर्जस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट बेचबिखनको प्रवृत्ति फेरिँदै बदलिँदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अंग किड्नी झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्य गरिन्छ । अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
– मोतीराम तिमल्सिना
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू