पुरिएको बसबाट १४ शव निकालियो,कुन कुन सडक बन्द ?

पुरिएको बसबाट १४ शव निकालियो,कुन कुन सडक बन्द ?

काठमाडौैं र धादिङको सिमाना झ्याप्ले खोलाको पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ वटा शव निकालिएको छ । लु. १ ज. ४५७८ नम्बरको माईक्रो बसबाट पाँच वटा र नम्बर नखुलेको बसबाट नौ जना गरी १४ जनाको लाश भेटिएको छ । 

आज साँझसम्म काठमाडौं जिल्लामा भएको क्षतिवारे काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले दिएको विवरणअनुसार काठमाडौं र तालुक कार्यालयबाट उद्धारका लागि डुंगालगायत सामग्री को साथमा तीन हजार ६० जना जनशक्ति परिचालन गर्दा एक हजार दुई सय ८८ जनाको सकुशल उद्धार भएको छ ।

उद्धार गरिएकामध्ये नयाँ बानेश्वर, शंखमूल क्षेत्रबाट पाँच जना,बल्खु र कालिमाटी क्षेत्रबाट आठ सय ३९ जना,कीर्तिपुर क्षेत्रबाट एक सय ५१ जना छन् । त्यसैगरी थानकोटको नागढुंगा र सुरुङ मार्ग क्षेत्रबाट एक सय ५२ जना,स्वयम्भूको इचङ्गुनारायण क्षेत्रबाट तीन जना, नक्साल बालमन्दिर क्षेत्रबाट एक सय १० जना र कोटेश्वर, बालकुमारी क्षेत्रबाट २८ जनाको उद्धार गरिएको छ ।

काठमाडौंको बाढी र डुबानमा एक जना हराएका छन् भने ११ जनाको मृत्यु भएको छ । एक जनाको ढलेको रुखमा मोटरसाइकल ठोक्किएर ज्यान गएको बताइएको छ । काठमाडौंमा ११ जना घाइते भएका छन् ।

इचङ्गुनारायणमा तीन जना र फर्पिङमा पुरिएका एक जनालाई निकाल्न बाँकी छ । काठमाडौंमा मृत पशु चौपायाको संख्या ७४ छ । एक हजार तीन सय ४० वटा घर डुबान र पहिरोमा परेका छन् । स्वयम् प्रहरीका आठ वटा युनिटमा पनि वर्षाले असर पारेको छ । 

निरन्तरको वर्षाले विभिन्न राजमार्ग र सडक बन्द भएको छ । विशेषगरी काठमाडौं –चितवन,काठमाडौं – सिन्धुली, मुग्लिङ – पोखरा, चितवन – बुटवल, काभ्रे – दोलखा, बेनी – मुस्ताङ, कैलाली – बझाङ  र झापा – इलाम सडक बन्द भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू