बाढीपहिरोले यातायात ठप्प, चार दर्जन राजमार्ग अवरुद्ध

बाढीपहिरोले यातायात ठप्प, चार दर्जन राजमार्ग अवरुद्ध

दुई दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोले देशका ५१ वटा मुख्य राजमार्ग प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार साना ठूला ४७ वटा राजमार्ग पूर्णरुपमा र चार वटा एकतर्फी अवरुद्ध भएका हुन् । 

जसअनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ३० वटा मुख्य राजमार्ग बन्द भएको छ । लुम्बिनी प्रदेशमा ७ वटा सडक पूर्णरुपमा र एउटा एकतर्फी प्रभावित भएको छ । कोशी प्रदेशका ६ वटा मुख्य राजमार्ग अवरुद्ध छ भने गण्डकीका ३ वटा पूर्ण र ४ वटा एकतर्फी बन्द भएका छन् । हुम्लाको पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । 

प्रहरीले सार्वजनिक गरेको सूचनामा काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका-८ मा खसेको पहिरोले सिस्नेरी सडक खण्ड पूर्णरुपमा अवरोध भएको जनाइएको छ । त्यस्तै कीर्तिपुर नगरपालिका-१० स्थित त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडिको सडक बन्द छ । 

चन्द्रागिरी नगरपालिका-२ को पहिरोले पृथ्वी राजमार्ग पूर्णत: बन्द भएको छ । ललितपुरको गोदावरी नगरपालिका-६ मा झरेको पहिरोले लेले, टिकाभैरव जाने बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी, मकवानपुरका विभिन्न स्थानमा गएको पहिरोले ६ वटा मुख्य सडकमा अवरोध पुगेको छ । बकैया-१२ घट्टेपाखा र आँपचौर लाम्राडमा गएको छुट्टाछुट्टै पहिरोले कान्तिलोकपथ, इन्द्रसरोवर गाउँपालिका-२ सुकौराको पहिरोले भिमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध छ । 

त्यस्तै, थाहा नगरपालिका-५ र ११ को पहिरोले त्रिभुवन राजपथ, इन्द्रसरोवर नगरपालिका-१ स्थित सडकमा पहिरो जाँदा कुलेखानी मार्खु सडक खण्ड र इन्द्रसरोवर गापा-३ मा खसेको पहिरोले सिस्नेरी दक्षिणकाली सडक खण्ड पूर्णअवरुद्ध भएको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा आएको बाढी र सोही गापाको वडा नम्बर ३ मेदाफुदुङमा खसेको पहिरोले रसुवागढी नाका जोड्ने पासाङल्हामु राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकस्थित रोशी गाउँपालिका-८ को पहिरोले विपी राजमार्ग अवरुद्ध छ । 

सिन्धुलीको गोलान्जार-६ अकबरे भिर र फिक्कल गापा-२ सुम्नामबेसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । हरिहरपुरगढीको पहिरोले मदन भण्डारी राजमार्ग सडक अवरुद्ध छ । रामेछापको मन्धली-६ मा आएको बाढीले रामेछाप र सिन्धुली खुर्कोट सडक खण्ड प्रभावित भएको छ । 

सिन्धुपाल्चोकमा अरनिको राजमार्गअन्तर्गत चौतारा-साँगाचोकगढी नगरपालिका-११ पहरीगाउँ, वनदेउ–चौतारा सडक खण्डको पोखरे, बाह्रविसे-तातोपानी सडक खण्डको बाह्रविसे-५ मा गएको पहिरोका कारण तीनवटै सडक बन्द भएको छ ।

धादिङको धुनिवेसी नगरपालिका-९ स्थित त्रिभुवन राजपथ सडक पहिरोले अवरुद्ध भएको छ । त्यस्तै, पृथ्वीलोक मार्ग थाक्रे गाउँपालिका-२ कमेरे र बेनिट रोराङ गाउँपालिका ३ मा खसेको पहिरोले पूर्णरुपमा बन्द छ । गजुरी गाउँपालिका-२ छहारा पानी, वेनिघाट रोराङ गाउँपालिका-१० तिङराङखानी, गल्छी गाउँपालिका ४ चिरौदीमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ ।


टिप्पणीहरू