प्रधानमन्त्री आएपछि क्याबिनेट बस्दै,मृतक संख्या थपिँदै

प्रधानमन्त्री आएपछि क्याबिनेट बस्दै,मृतक संख्या थपिँदै

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा हालसम्म एक सय ९२ जनाको मृत्यु भएको छ । गृह मन्त्रालका अनुसार ३० जना बेपत्ता र १९४ जना घाइते छन् । हालसम्म चार हजार पाँच सयभन्दा बढीको उद्धार गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेलाई मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ । उहाँ बेलुकी ५ बजे काठमाडौं आइपुग्ने तयारी छ । प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासहित २२ सदस्यीय टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते न्यूयोर्क जानुभएको थियो ।

मुलुकमा भयावह प्राकृतिक प्रकोप हुँदा पनि उहाँ भ्रमण नछोट्याई उतै रमाउनुभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । शनिबार मुलुकमा बाढीपहिरो र डुबानको भयावह अवस्था देखिँदा प्रधानमन्त्री ओली बोस्टनमा व्यक्ति विशेषको घरमा वाणिज्यदूत कार्यालयको झण्डोत्तलन गर्दै हुनुहुन्थ्यो । कतिसम्म भने, वाणिज्यदूत भनिएका प्रल्हाद केसीले वाणिज्यदूतावासको साइनबोर्ड कागजमा लेखेर मखमली कपडाले छोपिदिएका थिए । प्रधानमन्त्रीले त्यही मखमली कपडा पन्छाइदिनुभएको हो ।

सोही दिन परराष्ट्रमन्त्री राणा भने अमेरिकामा काँग्रेस निकटस्थहरुसँग लञ्च र डिनरमा व्यस्त हुनुभएको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।

टिप्पणीहरू