सिन्धुपाल्चोकमा सातजना बेपत्ता, तीन दिनसम्म उद्धारको पखाईमा स्थानीय

सिन्धुपाल्चोकमा सातजना बेपत्ता, तीन दिनसम्म उद्धारको पखाईमा स्थानीय

जिल्लाकै विकट जुगल गाउँपालिकामा पहिरोमा परी सात जना बेपत्ता भएका छन् । गत शनिबार पहिरोले घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । 

स्थानीय ईश्वर गुभाजुका अनुसार पहिरोले चार घर बगाउदा साँबो शेर्पा, डेण्डु शेर्पा, साहिँला शेर्पा, ढोमा शेर्पा, पासङ ढोमा शेर्पा, ढार्के शेर्पा र निङमा शेर्पा बेपत्ता भएका हुन् ।  उनीहरुको उद्धारका लागि हालसम्म कोही नपुगेको बताइन्छ ।

जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने तेगा बस्ती भौगोलिकरुपमा अत्यन्तै विकट स्थानमा छ । गाउँ वारीको तेम्बाथानसम्म सडक पुगेपनि बर्खाका कारण सबै अवरुद्ध छन् । अवरुद्ध सडक पन्छाउँदै वडा नम्बर ३ कै पाँगरपुरसम्म गाडी गएको छ । तर तेगा बस्तीसम्म पैदल पुग्न त्यहाँबाट झण्डै एक दिन लाग्ने बताइन्छ । 

विजुली बत्ति, सडक र सञ्चारबाट पूर्णरुपले विच्छेद भएकाले सूचना प्राप्ती पछि स्थानीय कसैसँग सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ताको खबरपछि खोजीकार्य र उद्धारका लागि सेनाको हेलिकोप्टरमार्फत् सो क्षेत्रका सांसद माधव सापकोटासहित प्रशासनले त्यता जाने तयारी गरेको एसपी सन्तोष खड्काले दिउँसो बताएका हुन् ।

टिप्पणीहरू