दशैँ घरमा जमरा राखियो (तस्वीरहरु)

दशैँ घरमा जमरा राखियो (तस्वीरहरु)

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ ।

नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिपूर्वक पूजाआरधना गरी जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाईत बिहान ९ः१६ बजे जमरा राखिएको हो।

सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनुको साथै बन्दुक पड्काएर बढाईं गरिएको छ। हनुमान ढोकाको गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले परापूर्वकालदेखि नै घटस्थापना मनाउँदै आएको र नित्य पूजा गर्ने प्रचलनअनुसार जमरा राखिएको बताए। 

‘घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आइएको छ । सबै घरहरुमा जमरा राख्ने गरिुन्छ । हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने गरेका छौँ’, उनले भने । 

दशैँको पहिलो दिन आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । 

नवरात्रिभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ ।

पण्डित सुवास कोईरालाले आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुने र आज दैत्यमाथि देवीले विजयी पाएको अवसरमा दशैँको पहिलो दिन जमरा राखिएको बताए । देवीको प्रिय वस्तु जौ भएकाले जौको जमरा राख्ने गरिएको उनको भनाई छ ।‘आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुन्छ । दैत्यमाथि देवीले विजयी पाएको दिनमा आजबाट नवदुर्गाको पूजा गरिन्छ', कोइरालाले भने, 'देवीको प्रिय वस्तु भनेको जौ हो, जौलाई उमार्छौँ । पूजा गर्छौं । जौ, गहुँ, धान, मकै पनि छर्ने चलन छ ।’

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा हुन्छ ।

तस्वीरहरु

टिप्पणीहरू