जेठो बिश्वविध्यालयमा निर्मम तोडफोड
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चरम विवाद, अराजक र हिंसात्मक बनेपछि स्थगित गरिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा भएको राष्ट्रिय सम्मेलनको बन्दसत्र नेतृत्वको उमेर हद विवादको भूमरीमा परेको छ ।
अध्यक्षका उम्मेदवार तुकमान महरा नेतृत्वको समूहले उमेर हद नमान्ने भन्दै कार्यक्रमस्थलमा तोडफोड गर्दै आएको थियो । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इञ्चार्ज हिमाल शर्मासहितको टोलीलाई खुमलटारमा बोलाएर उमेर हदको विषयमा धेरै लफडा नगर्न निर्देशन दिनुभएको थियो ।
विवादले सम्मेलन लम्बिएपछि हिजो बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आजसम्मका लागि निर्वाचन कार्यक्रम रोक्ने निर्णय गरेको थियो । पार्टी केन्द्रको उक्त निर्णयको विरोधमा दिउँसो विद्यार्थीहरु बन्दसत्र हलमा होहल्ला र नाराबाजी गर्दै तोडफोडमा उत्रिए ।
क्रान्तिकारी केन्द्रीय समितिले ‘बन्दसत्र स्थगित’ को सूचना टाँसेलगत्तै केही प्रतिनिधि कुर्सी हानाहान र तोडफोडमा संलग्न भए । कीर्तिपुरस्थित त्रिविको स्मृति हलमा असोज १० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन उमेर हद राख्ने कि नराख्ने वा कति वर्ष राख्ने भन्ने विवादमा प्रतिनिधिहरु विभाजित हुँदा बन्द सत्र प्रभावित भएको थियो ।
सभा हलबाहेक उपकुलपति केशरजंग बरालले आफ्नो राजनीतिक आस्था रहेको माओवादी केन्द्रको विद्यार्थी संगठनलाई त्रिवि प्राध्यापक संघको कार्यालय पनि उपलब्ध गराइदिएको र अहिले उक्त कार्यालयको अवस्था बिजोग भएको बताइन्छ । प्राध्यापक संघको कोठाको झ्याल,कुर्सी,टेबुल,सिसा फुटाइएको छ । बरालले उपकुलपति बन्नुअघि विश्वविद्यालयमा सुधार ल्याउने प्रतिबद्धता जनाएका थिए । तर, अहिले प्राध्यापक संघको कार्यालयसमेत उपलब्ध गराएर ध्वस्त बनाउनेमा उहाँ मतियार बन्नुभएको प्राध्यापकहरुको आरोप छ । सोही क्रममा एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भिसी साहब,अति सर्वत्र वर्जयेत्, कृपया कि आफ्ना दलीय सत्ताकब्जा कर्मलाई तत्काल विराम लगाइदिनुस् वा त्रिविलाई मुक्त गरिदिनुस् !’
अर्का एकजनाले सामाजिक सञ्जालमा लेख्दै भिसीको आडमा विद्यार्थीले संघको कार्यालय ध्वस्त बनाएको र कोठाको साँचो समेत आफैँले राखेको उल्लेख गरेका छन् । लेखिएको छ, ‘त्रिवि प्राध्यापक संघको कोठा अनेरास्ववियु (क्रा.) को अधिवेशनमा चुनाव गराउने भनेर भिसीको आडमा कब्जा लिए विद्यार्थीले तर ढोका र कब्जा सबै तोडे भने साँचो अहिलेसम्म उनीहरूले नै राखेका छन्, बैठक कक्षको !’
टिप्पणीहरू