फेसबुकको सहानुभूति चाहिएन सरकार !

फेसबुकको सहानुभूति चाहिएन सरकार !

एघार दिनदेखि ‘पशुपतिनाथले चलाएको देशमा’, सोमबार दिउँसो करिब चार बजेतिर ‘विपदले थलिएको खण्डहर खाल्डो’बीच एकाएक झुल्किए प्रधानमन्त्री केपी शर्मा ओली । त्यो पनि ‘भिभिआइपी’को नाउँमा घण्टौँदेखि विमानस्थल ठप्प पारेर । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा अवस्था भद्रगोल थियो । हजारौँ यात्रु उड्नुअघि अलपत्र थिए । समयमै गन्तव्य टेक्न पाइरहेका थिएनन् उनीहरूले । बाढी—पहिरो र डुबानले त्रसित नागरिक राज्य—संयन्त्रप्रति आक्रोशित देखिन्थे । उडान कुरिरहेको ‘यात्रु—जमात’ ओलीको स्वागतमा होइन, ‘विपदमा प्रधानमन्त्री हराएको’ भन्दै आलोचना गरिरहेको थियो ।

दुनियाँलाई पत्तो छ— प्रधानमन्त्री ओली ‘भैँसी दुहुन न्युयोर्क गएका थिएनन् ।’ अर्को कुरा, यो विपत्ति उनले निम्त्याएका पनि होइनन् । तैपनि, अमेरिका भ्रमण छोट्याएर बेलैमा स्वदेश फर्किएको भए, ‘संकटमा बाँचिरहेका नेपाली नागरिकको यादमा तड्पिनु पर्दैनथ्यो ।’ उनको ज्यान र मुटु पनि नेपालमै हुन्थ्यो । विपदको समयमा देश नेतृत्वविहीनजस्तै थियो । का.वा. प्रधानमन्त्री प्रकाशमान सिंह जिम्मेवारीमै मख्ख थिए, खटनपटनमा शून्य । गृहमन्त्री रमेश लेखक पीडितसामु दर्शाउँदै थिए सरकारको कमजोर– ‘भिजिबिलिटी’ । अर्थात्, प्रधानमन्त्री ओलीले सिंहको काँधमा थमाइदिएको सरकारी संयन्त्र लाचार देखिन्थ्यो ।

ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकै बखत देशमा प्राकृतिक विपत्ति आइलाग्यो । तर, ‘शनिबारको विपद बाजा बजाएरै आएको थियो ।’ अत्यधिक वर्षाको पूर्वजानकारी हुँदाहुँदै राज्यसंयन्त्र उदासीन बन्यो । शुक्रबार राति देशै बाढीपहिरोले तहसनहस बनायो । नागरिकलाई तड्पाइतड्पाइ राज्यले नै मार्‍यो । बाढीपहिरो र डुबानले दर्जनौँ नागरिकको ज्यान लियो । हजारौँ मानिस घरबारविहीन बने । उनीहरूको जिउधन ‘बाग्मती’ले बगायो । स—साना नानीबाबु पहिरोमा पुरिए । कतिपय भाग्दाभाग्दै डुबानमा परे । नक्खुतिर उद्धारका लागि याचना गर्नेहरू ‘टिनको छाप्रो’सँगै बगे । कतिपय यात्रु बसभित्रै पुरिए । बिरामी अस्पताल नपुगी एम्बुलेन्समै मरे । अझ भनौँ— हिजोआज नागरिक मात्र बेपत्ता छैनन्, विपत्तिको घडीमा सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद्, सुरक्षा—संयन्त्र र मेयर नै लापत्ता छन् ।

आशा गरौँ, अब सबतिर सरकारै—सरकार भेटिने छ । तामझामसहित स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले पीडितको पेटमा अन्नपानी नपु¥याई ‘राष्ट्रिय शोक’ घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा तीन दिन झुकाउन उर्दी जारी गरेको छ । बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल बनाएको छ । मृत्यु भएकालाई प्रतिव्यक्ति दुई लाख रूपैयाँँ दिने लोकप्रिय निर्णय गरेको छ । घाटा खाएरै इन्धनको मूल्य घटाइएको छ । तर फलफूल, तरकारी र दालचामलको भाउ अकासिँदै छ । दशैंको मुखमा हवाई भाडाले टुप्पी नाघ्दै छ । अर्को, कहालीलाग्दो दृश्य— घाइतेहरूले राम्रो उपचार पाएका छैनन् । घरबारविहीनहरूले त्रिपाल पाएका छैनन् । पहिरोले गाउँ नै बगाएकाहरू सुरक्षित स्थान खोज्दै खाली खुट्टा हिँडिरहेका छन् । अर्थात्, ओली फर्केपछि सब ठीकठाक चल्दैछ, देश लयमा फर्किंदैछ !

बाढीपहिरोले करोडौँको लागतमा निर्मित राजमार्ग, पुलपुलेसा, विद्यालय, स्वास्थ्य चौकी भवन र खोला थुनेर खडा गरिएका महल—झुपडी भत्काएको छ । नदी वा खोलाछेउको गाउँबस्ती बगरजस्तै बनाएको छ । कमिसनको लोभमा मनलाग्दी खनिएका बाटोघाटो र गिट्टी—बालुवा उत्खननको घीनलाग्दो रवैयाले भ्रष्टतन्त्रको आँखा खोलिदिएको छ । विपत्तिको सामना सबैले गर्नुपर्छ । यो समयमा विरोधका लागि ‘विरोध’ र नचाहिँदो राजनीति गर्नुहुँदैन । तर, देश बगिरहेको बेला, जनता तड्पिरहेको बेला मुलुकको कार्यकारी प्रमुख— ‘विदेशमा बसेर स्वकीय सचिवमार्फत हावादारी पोष्ट लेखाउँदै सामाजिक सञ्जालमा रोएजस्तो गर्नु पनि शोभनीय मानिँदैनन्थ्यो ।’ किनकि, जनता पीडामा छन् । पीडित नागरिकलाई फेसबुकको सहानुभूति होइन, तत्काल उद्धार र राहतको आवश्यकता थियो ।

‘नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको छ,’ भन्दै सञ्जाल प्रयोगकर्तालाई उल्लू बनाइरहेका ओलीले किन बाढीपहिरो प्रभावितको उद्धारमा तत्परता देखाएनन् ? कि उनले का.वा.को जिम्मेवारी सुम्पिएका ‘सिंहराज’ सिंहदरबारमै रुमल्लिए ? घण्टौँसम्म घरको छत र बगरको बीचमा ज्यानको बाजी लगाइरहेका निमुखा नागरिकको उद्धारका लागि गणतन्त्र दिवसमा फूल बर्साउँदै काठमाडौँमा फन्को मार्ने हेलिकप्टर थिएनन् ? विध्वंसकारी वर्षाको पूर्वानुमान भइरहँदा किन सुरक्षा निकायलाई शुक्रबार साँझै परिचालन गरिएन ? किन उनीहरूलाई स्रोतसाधनबाट बञ्चित गरियो ? प्राकृतिक विपदको समयमा राज्य सम्पर्कविहीन हुँदा नागरिकले ज्यान र धनमालको सुरक्षाका लागि कसको मुख ताक्ने ? हेर्नोस्, प्रधानमन्त्री ओली पत्रकारको प्रश्नबाट त भाग्न सक्लान् तर नागरिकको प्रश्नबाट कहिल्यै उम्किन सक्दैनन् ।

प्रधानमन्त्री ओलीले अमेरिका पुगेर देखाएको एउटा भद्दा मजाक— सोही समारोहमा पुगेका जापानी र भारतीय प्रधानमन्त्री तीन दिनमै देश फर्के । युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति दुई दिनमै फर्के । तर देशमा बाढी—पहिरो र डुबानबाट ‘पीडित नागरिक’का प्रधानमन्त्रीचाहिँ बेलैमा फर्किन चाहेनन् । उनी स—साना गैरआवासीय नेपाली समूहको स्वागत—सत्कारमै रमाइरहे । विपदको बेला उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल चीनमा थिए । मुलुकको विपद व्यवस्थापनको जिम्मेवारी बोकेका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल शुक्रबार राति बेलायत उडे । यता देश डुबिरहेको थियो, उता ‘ओली एण्ड उनको संयन्त्र’का अधिकारीहरू विदेशतिर लाग्दै थिए । मानिसहरू भन्छन्, यही हो ओलीतन्त्रको असली अनुहार । यही हो ओली सरकारको गैरजिम्मेवार रवैया ।

विपत्तिमा राज्य र राजनीतिक नेतृत्व झुर देखिए पनि राज्यकै कतिपय अंग सेना, प्रहरी, वा सामाजिक संघ—संगठन र चणिकलाल तामाङहरू सहिष्णु र सहयोगी भावका साथ पीडितसामु प्रकट भए । उनीहरू सीमित स्रोतसाधन र अनेकौँ अभावका बाबजुद पनि उद्धार कार्यमै खटे । बधाईका पात्र थिए उद्धार कार्यमा खट्नेहरू । तर धिक्कारचाहिँ ती पात्रलाई छ— जसले ओभानो नहुञ्जेलसम्म नाकमुख देखाएनन् । जब बाढी खोलामै फर्कियो, अनि पीडितलाई सुरक्षित स्थानमा सारियो । घाम लागेपछि झण्डा हल्लाउँदै पीडितलाई गिज्याइरहेका थिए जसले! फेरि भनौँ, पशुपतिनाथले चलाएको देशमा ‘निरो’ प्रवृत्तिका प्रधानमन्त्री, विपदमा तमाशा देखाउने गैरजिम्मेवार मन्त्री, लुकेर बस्ने मेयर र प्रलयको चेतावनी छल्न खोज्दा यात्रुको ज्यान लिने सिडिओचाहिँ सबैका शत्रु हुन् ।

 

टिप्पणीहरू