विगतको नजिर देखाउँदै कमल थापाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

विगतको नजिर देखाउँदै कमल थापाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका छ जना किशोरको पहिरोमा पुरिएर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाले माग गरेका छन् ।   

एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीका कारण दुःखद घटना घटेको उल्लेख गर्दै उनले छानबिन आयोग गठनको माग राखेका हुन् । सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।  

२०४५ सालमा आँधिबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान जाँदा एन्फाको अध्यक्षबाट आफूले तत्काल राजिनामा दिएको सन्दर्भ उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘सरकारले छानबिन आयोग गठन गर्यो । अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो, शिक्षामन्त्री राजिनामा दिन वाध्य भए । यो राजाको शासन र पंचायतकालको कुरा थियो ।’

अहिले एन्फा नेतृत्वबाट राजीनामाको आशा र अपेक्षा नगरेको व्यंग गर्दै उनले कमसेकम सरकारले छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका हुन् । 

गत असोज ११ र १२ गतेको भीषण वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम भरिएपछि जलाशयको ढोका खोल्दा ठूलो पहिरो गएको थियो । सोही कारण विद्यालयको छात्राबासबाट बालकहरुलाई सुरक्षित स्थलतर्फ सार्न खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

टिप्पणीहरू