शान्ति सेनामाथि भएको आक्रमणको नेपालद्वारा निन्दा

शान्ति सेनामाथि भएको आक्रमणको नेपालद्वारा निन्दा

लेबनानमा शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणप्रति नेपालले विरोध जनाएको छ । परराष्ट्र मन्त्रालयले घटनाको निन्दा र भर्त्सना गर्दै छानबिनको मागसमेत गरेको छ । 

आइतबार दक्षिण लेबनानस्थित शान्ति सेनाको बेसमा प्रवेश गरी  इजरायली फौजले गोलाबारी गरेको थियो । जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ। 

सो घटनाविरुद्ध संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति निकालेर निन्दा गरेका हुन् । ‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक) को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ ।’

नेपालले सङ्घर्षरत पक्षलाई शान्ति सेनामा खटिएका सैनिकहरुको सुरक्षाको ग्यारेन्टी गर्न आग्रहसमेत गरेको छ । 

इजरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ । इजरायली सुरक्षा बल (आईडीएफ) ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ ।
 

टिप्पणीहरू