एमालेको सचिवालय बैठक साँझ, माओवादीको छठपछि

एमालेको सचिवालय बैठक साँझ, माओवादीको छठपछि

सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज साँझ ५ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्दैछ ।

असोज २४ गते बसेको सचिवालय बैठकले पार्टी कार्यालय भवन निर्माणका लागि एकजना व्यापारीबाट करोडौँको जग्गा ‘दान’ लिने निर्णय गरेको थियो । उनैले नौ तले अत्याधुनिक भवन बनाइदिने घोषणासमेत गरेका छन् । 

सरकारको नेतृत्व गरिरहेको दलले स्वार्थ बाझिनेगरी व्यापारीसँग जग्गा लिएको विषय आलोचनामा परेको छ । आजको बैठकमा यसको समीक्षाका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । 

यता, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पछि सरेको छ । साउन अन्तिम साता सम्पन्न माओवादी पदाधिकारी बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । तर, अहिलेको राजनीतिक घटनाक्रम र अध्यक्षको व्यस्तताका कारण बैठक छठपछि बस्ने तय भएको माओवादीले जनाएको छ । 

बैठकबाट पार्टीको आगामी कार्यदिशा, वैचारिक तथा कार्यक्रमिक एजेण्डा, नेताहरुको कार्य विभाजन गर्ने माओवादीको तयारी छ ।

टिप्पणीहरू