रोल्पामा रास्वपाबाट बालाराम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट बालाराम थापालाई उम्मेदवार बनाउने भएको छ ।
सो पार्टीको जिल्ला कार्य समिति बैठकले उनको नाम सिफारिस गरेर पठाएको हो । सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन् । राजनीतिशास्तमा मास्टर्स गरेका उनले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गरेर सामाजिक सेवा गर्दै आएका छन् ।
विगतमा रोल्पाबाट दर्जनौं नेता राजकीय भूमिकामा पुगे पनि जिल्लाको विकासमा योगदान पुर्याउन नसकेको थापाको दावी छ । पुराना नेता भाषणमा सिमित हुँदा जिल्लाले अपेक्षित फड्को मार्न नसकेको बताउने उनी विकासको लागि सर्वप्रथम नागरिकको आधारभूत पक्षमा सुधार गर्नुपर्ने विश्वास राख्छन् ।
‘रोल्पाले जन्माएका नेता र उनीहरूकै नेतृत्वले हैन र देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको सपना देखाएको !’, उनले भने, ‘उहाँहरूले बाँडेको सपनालाई अब जनताले पनि सपना नै ठानेर बिर्सन बाध्य भएका छन्, तर मेराे उपस्थित सपना देखाउन हैन, यर्थाथता सुधार्न हो ।’
जिल्ला उपसभापतिसमेत रहेकाे र अपांग तथा दृष्टिविहिन नागरिकहरुको लागि आवास निर्माणमा उल्लेख्य भूमिका निभाउँदै आएको दावी गर्ने थापाले आगामी निर्वाचनमा जनतालाई विवेक प्रयोग गर्न पनि आग्रह गरेका छन् ।
‘नेताहरूले जति ठूला गफ गरे मुलुकका अधिकांश इट्टाभट्टामा पुग्ने बालबालिका रोल्पाली सन्तान छन्, नामकाे स्वास्थ्य केन्द्र भए पनि राम्रो उपचार नहुँदा बुटवल र काठमाडौँ झर्न बाध्य हुने पनि रोल्पाली नै हुन्’, उनले अघि भने, ‘रोजगारी र राम्रो शिक्षा नहुँदा हाम्रा छोराछोरी विदेशिन बाध्य हुनुपरेको उदाहरण हाम्रै अघि छ, कम्तिमा यो सबै रोक्न, त्यसको आधार तयार पार्न यो पटक आफ्नो विवेक प्रयोग गर्नुहोला ।’
स्मरण रहोस, माओवादी आधार क्षेत्र रोल्पा वर्षमान पुनले जित्दै आएको ठाउँ हो । यसपटक पनि नेकपाले उनैलाई अघि सार्ने अनुमान गरिएको छ । यता, नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा नेत्रविक्रम चन्द विप्लवले मैदानमा उत्रिने तयारी गरेको चर्चा छ ।
टिप्पणीहरू