पोखराबाट बयानका लागि बुटवल पनि पुर्याइनसक्छ रविलाई

पोखराबाट बयानका लागि बुटवल पनि पुर्याइनसक्छ रविलाई

सहकारी ठगी र संगठित अपराधमा थुनिएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की प्रहरीलाई आज दिउँसो अदालतले शुक्रबारदेखि लागु हुनेगरी छ दिनको म्याद दिएको छ ।

मुद्दाको थुनछेक बहसपछि उनलाई पोखराबाट पहिलो चरणमा इलाका प्रहरी कार्यालय बुटवलमा बयानको लागि लगिने सम्भावना उत्तिकै छ ।  त्यसपछि क्रमशः चितवन, काठमाडौं पनि लैजान सकिने प्रहरी स्रोतको आकलन छ । उनी प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रुपैयाँ  पोखराको सूर्यदर्शन,काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र बुटवलको सुप्रिमबाट ल्याएर खर्च गरिएको थियो । 

उनलाई यसअघि दोहोरो राहदानी काण्डमा तत्कालीन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोगाइदिनुभएको थियो । तर सहकारी काण्डमा उनले सबैभन्दा धेरै विश्वास गरेका केपी ओलीले अन्तिममा नजोगाएको जगजाहेर भइसकेको छ । सोही सन्दर्भमा सामाजिक सञ्जालमा भाइरल बनेको दिलनिशानी मगरको एउटा स्टाटस छ, ‘आफूले काण्डमाथि काण्ड थप्दै हिँड्ने तर जोगाई दिनुपर्ने अरुले । आफ्नो स्वास्नीलाई आफैंले जोगाउनुपर्छ, छरछिमेकलाई दोष दिन मिल्दैन । भात आफूले खाएपछि आची पनि आफैँले गर्नुपर्छ । बालुवाटारमा नेताहरुसँग चोचोमोचो मिलाएर न्याय पाइँदैन । न्याय पाउन न्यायाधीशहरुसँग सिधा कुरा गर्नुपर्छ ।’

"कुनै पनि नेता, मन्त्री वा प्रधानमन्त्रीको हस्ताक्षरले कोही जेल जाँदैन । जेल जान न्यायाधीशको आदेश चाहिन्छ ।"

उनलाई उच्च मनोबलका साथ कानुनी लडाईं लड्न शुभचिन्तकहरुले सुझाएका छन् । एक जना शुभचिन्तकका अनुसार कुनै पनि नेता, मन्त्री वा प्रधानमन्त्रीको हस्ताक्षरले कोही जेल जाँदैन । जेल जान न्यायाधीशको आदेश चाहिन्छ । ती शुभचिन्तकले भनेका छन्, ‘केपी ओलीले दुर्गा प्रसाईंलाई जेल हाल्न सकेनन् । प्रसाईं धरौटीमा फुत्त निस्किए । मिडिया उद्योगी कैलाश सिरोहियालाई रविले जेल हाल्न नसकेकै हो । उनी जनकपुरबाट हेलिकप्टरमा उडेर काठमाडौं आए । त्यसैले रविको गल्ती छैन भने कसैले पनि जेल हाल्न सक्दैन । बरु रविले क्लिन चिट पाउने प्रक्रिया बल्ल पोखराको प्रहरी हिरासतबाट सुरु भएको छ । त्यसैले उच्च मनोबलका साथ कानूनी लडाइँ लड्नु पर्छ ।’ 

उनलाई सडकमा मान्छे उतारेर डर देखाउने काम नगर्न सल्लाह दिइएको छ । त्यस्तो काम गुण्डा र डनहरुले मात्रै गर्ने हो । रविलाई राजनेता भन्नेहरुले नै राजनेताले त्यसो गर्न नसुहाउने उल्लेख गरे । उनीहरु भन्छन्, ‘१२ वर्ष जनयुद्ध लडेर केही नभएको देशमा चार दिन भेडा उफ्राई गराउनु भनेको जग हँसाई मात्र हो । २१ औं शताब्दीमा भीड जम्मा पार्नुको कुनै अर्थ छैन । हामीलाई विचारहरु चाहिएको छ ।’

दोकानमा चामल चोरेर खाएको आरोपमा गरिबका छोराछोरी जेलमा रहेको सन्दर्भ पनि यतिखेर भाइरल भएका छन् । तर रविमाथि सहकारीको करोडौं ठगेर खाएको आरोप भएकाले मुद्दामा उनी कमजोर हुने धेरैको आशंका छ । केहीले लेखेका छन्, ‘केपी ओली १४ वर्ष जेलमा बस्दा प्रशस्त पानी पिउन पाएनन्, अनि किड्नी बिग्रियो । हिरासतमा थरीथरीका भोजन र मिनरल वाटर खान पाएपछि रबिको बुद्धि नबिग्रियोस् ।’

टिप्पणीहरू