रविको पक्षमा सडक विलाप नगर्न कांग्रेस नेताको सुझाव

रविको पक्षमा सडक विलाप नगर्न कांग्रेस नेताको सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई रुवावासी नगर्न सुझाव दिएका छन् । 

सहकारी ठगीमा पक्राउ परेका सो पार्टीका सभापति रवि लामिछानेको पक्षमा भैरहेको सडक प्रदर्शनप्रति लक्षित गर्दै उनको यस्तो प्रतिक्रिया आएको हो । महामन्त्री शर्माले रास्वपाका कार्यकर्तालाई सडक विलापको जगहँसाई नगर्न सुझाए । 

‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं’, उनले भनेका छन्, ‘अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।’

रास्वपाका कार्यकर्ताले लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध भनेर संसदकै अपमान गरेको शर्माको तर्क छ । ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-,प्रचलित कानुन बमोजिम कार्वाही गर्नु, तर प्रक्रिया शुरु भएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?’ उनको प्रश्न छ । 

सहकारी ठगीका दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता भएको शर्माको भनाई छ ।

टिप्पणीहरू