मुख्यमन्त्रीको प्रशंसाले अप्ठेरोमा परेका माओवादी नेताद्वारा अभिव्यक्ति फिर्ता

मुख्यमन्त्रीको प्रशंसाले अप्ठेरोमा परेका माओवादी नेताद्वारा अभिव्यक्ति फिर्ता

मुख्यमन्त्रीको प्रशंसा गर्दा पार्टीभित्र आलोचनामा परेका माओवादी केन्द्र रुकुम-पश्चिमका संयोजक गोविन्द रोका सचिनले माफी मागेका छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल सहभागी कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारको घटनालाई लिएर पार्टीसम्वद्ध प्रेस सेन्टरसँग उनको अन्तरविरोध चर्किएको थियो । विवाद बढ्दै गएपछि रोकाले गल्ति स्वीकार गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयको सभा हलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो आयोजना गरेको सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार बलेन्द्र ओलीलाई मुख्यमन्त्री कँडेलले हप्कीदप्की गरेको भन्दै प्रेस सेन्टरले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखाले पनि विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेका छन् । 

प्रेस सेन्टरको उपाध्यक्षसँगै नेपाल टेलिभिजनको जिएमसमेत भैसकेका र पत्रकारिताबाटै राजनीतिमा स्थापित भएका रोका भने उल्टै मुख्यमन्त्री कँडेलको पक्षमा उभिए । सबैको गुनासा, सुझाव र आलोचना सुन्न सक्ने पहिलो मुख्यमन्त्री भन्दै फेसबुकमा उनले स्टाटस लेखे । 

मुख्यमन्त्री कँडेलको फोटोसहित उनले लेखेका थिए, 'जिल्लामा आएर सवै राजनैतिक दलहरुकाे संयुक्त अन्तरक्रिया/भेटघाट राखेर सुझाव, गुनासा, आलाेचना सुन्ने कर्णाली प्रदेश सरकारकाे पहिलाे मुख्यमन्त्री मा. यामलाल कँडेलज्यूलाई रुकुम पश्चिममा हार्दिक स्वागतसहित धन्यवाद !'

कार्यकर्तामाथि दुर्व्यवहार गरेको आरोप लागिरहेका मुख्यमन्त्रीलाई सार्वजनिकरुपमा प्रशंसा गरेपछि रोका पार्टीपंतिको प्रश्नको घेरामा परे । विवाद बढ्दै जाँदा कार्यकर्ता बहिष्कार गर्ने तहमा पुगेपछि साँझ पार्टीको लेटरहेड्मा विज्ञप्ति निकालेर उनले अभिव्यक्ति सच्याएका हुन्।

पत्रकारलाई रिपोर्टिङमा अवरोध पुर्याउने मुख्यमन्त्री कँडेलको कदमको निन्दा गर्दै उनले उक्त घटनाका सम्बन्धमा प्रेस सेन्टर नेपाल, पत्रकार महासंघलगायत सरोकारवाला निकायको विरोधप्रति ऐक्यवद्धता रहेकोसमेत स्पष्ट पारेका छन् । 

जिल्ला प्रशासन कार्यालयको निम्तोमा कार्यक्रमस्थलमा पुगेका पत्रकारलाई प्रमुख अतिथिको आसनमा रहेका मुख्यमन्त्रीजस्तो व्यक्तित्वबाट दुर्व्यवहार हुनु अशोभनीय मात्र नभई प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको उनको ठहर छ ।

टिप्पणीहरू