रविसङ्गको सम्बन्ध र आफ्नो सुरक्षावारे के भन्छन् जिबी ?

रविसङ्गको सम्बन्ध र आफ्नो सुरक्षावारे के भन्छन् जिबी ?
सुन्नुहोस्

सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई बेपत्ता छन् । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएसँगै देश छोडेर भागेका उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिशसमेत जारी गरेको छ ।

देशका प्रमुख शहरमा ‘स’ बाट उच्चारण शुरु हुने नामका आधा दर्जन सहकारी संस्था खोलेर गोर्खा मिडिया नेटवर्क प्रालि लगायतका दर्जनौँ निजी कम्पनीमा गैरकानुनी तवरले पैसा पुर्याएको अभियोग राईमाथि छ । संसदीय छानविन विशेष समितिले उनीमाथि कारवाहीनिम्ति  सरकारलाई सिफारिस गरेको छ । तर,हजारौँ बचतकर्ताको अर्बौं रकम घोटाला गरेर भागेका राई कहाँ छन् प्रहरीले समेत बताउन सकेको छैन । 

केही समय अघिसम्म मलेसियामा रहेको अनुमान गरिएका जिबीलाई खोज्न सरकारले नेपालबाट प्रहरीको एक टोलीसमेत पठाएको थियो । तर टोली रित्तो हात फर्कियो । त्यसअघि जिबीको तत्कालिन पार्टनरसमेत रहेका रवि लामिछाने गृहमन्त्री भएका बेला 'जिबी राईको लोकेसन पत्ता लाग्यो' भन्दै मलेसियामा रहेको बताएका थिए ।  

यसैबीच जिबी राईका तर्फबाट भन्दै इमेलबाट एउटा पत्र जनआस्थालाई प्राप्त भएको छ । नेपाल आएर अनुसन्धानका लागि सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको व्यहोराको पत्रमा सुरक्षाको व्यवस्था मिलाइदिन राज्यसँग आग्रह गरिएको छ । 

यस्तो छ पत्र :

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,

अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला,जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ । 

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।  

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले  तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले । 

केहीपछि तपाईंलाई गार्हो हुन्छ,मेरो नाम पनि जोडिन्छ,टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे ।

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।

उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ । 

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।

उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन,तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे । अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस् । उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।

(इमेलबाट प्राप्त प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भैरहेको छ)

टिप्पणीहरू