नाम एनआरएन एक, आज बेलुकीको भात भान्छा अनेक

नाम एनआरएन एक, आज बेलुकीको भात भान्छा अनेक
सुन्नुहोस्

तीन चिरामा विभक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को एउटा समूहले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएपछि विवाद थप चर्किएको छ । 

एमाले समर्थित बद्रि केसी पक्षले आज काठमाडौँमा आयोजना गरेको 'ग्लोबल सम्मेलन' मा प्रधानमन्त्रीको उपस्थिति रहेको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे,उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।

तर, प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अरु दुई समूहले भने चर्को आपत्ति जनाएका छन् । माओवादी समर्थक भनिएका र संघको गत निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका आरके शर्मा पक्षधरले सार्वजनिकरुपमै विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष गंगाधर गौतमले यसअघि नै सम्मेलन बहिष्कारको अपिल गरेका थिए ।

नयाँ नेतृत्व चयनका लागि गत वर्ष भएको निर्वाचनमा बिजेता घोषित बद्रि केसी समूह र अध्यक्षका दुई प्रत्यासी आरके शर्मा र कांग्रेस निकट महेश श्रेष्ठको छुट्टाछुट्टै समूह छ । केसीले अनलाइन भोटिङ प्रणाली कब्जामा लिई नेतृत्व हात पारेको आरोप लगाउँदै शर्मा र श्रेष्ठले परिणाम अस्वीकार गरेपछि उत्पन्न विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । 

सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खुला गरेपछि शर्माले अर्को रिट दर्ता गराएसङ्गै विवाद थप पेचिलो बन्दै गएको छ । उक्त रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओली एउटा पक्षको कार्यक्रममा उपस्थित भएकोप्रति केहीले अप्ठेरो मानेको अवस्था छ । 

एमालेसँगको आवद्धता र प्रधानमन्त्री ओलीसंगको विशेष सम्बन्धका आधारमा केसीले आफ्नो खेमालाई आधिकारिक देखाउन सरकारका मान्छे कार्यक्रममा उपस्थित गराएको असन्तुष्टहरुको दाबी छ । उनीहरुले कार्यक्रमलाई एमालेनिकट एनआरएनए भेलाको संज्ञासमेत दिएका छन् । 

तीनवटै समूहले आज बेलुका आफू निकटहरुलाई छुट्टै खानपानको कार्यक्रम राखेको बुझिएको छ ।

टिप्पणीहरू