उहिलेको एअरपोर्ट भन्सार,अहिलेको मालपोत

उहिलेको एअरपोर्ट भन्सार,अहिलेको मालपोत

भूमि व्यवस्था तथा अभिलेख विभाग मातहत एकै पटक चार सय बढी कर्मचारीको सरुवा विषयमा छानबिन थालिएको छ ।

सरुवासम्बन्धी छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । 

गत असोज १४ र १५ गते भूमि विभागका तत्कालिन महानिर्देशक कृष्णप्रसाद सापकोटाले एकै पटक चार सय १८ जना कर्मचारीको सरुवा गर्दा ४५ शाखा अधिकृत, दुई सय २५ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर परेका थिए । 

एकैचोटी ठूलो संख्यामा सरुवा गरिएपछि कर्मचारीहरुले भूमि विभागमै धर्ना दिए । त्यसपछि कात्तिक १ गते क्याबिनेट बैठकले महानिर्देशक सापकोटालाई सरुवा गरी राष्ट्रिय योजना आयोगमा पुर्याएको छ । यता,सापकोटाले जग्गाको धेरै कारोबार हुने कार्यालयहरुमै जथाभावी सरुवा गरेकोले आर्थिक लेनदेन भएको आशंकामा मन्त्रालयले छानबिन शुरु गरेको बताइन्छ ।  

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गणेशप्रसाद भट्टले सरुवासम्बन्धी छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।उनले भने, ‘कर्मचारीहरुको गुनासोपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिले आवश्यक छानबिन गरी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।’

उनका अनुसार गत कात्तिक २ गते समिति गठन गरिएको हो । समितिलाई प्रतिवेदन बुझाउन दश दिनको समय दिइएको छ । यसअघि गत साउनमा पनि सापकोटाले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेका थिए । त्यतिबेला पनि जथाभावी सरुवा गरिएको भन्दै कर्मचारीहरुले विरोध जनाए पनि छानबिन भने भएन । 

उनले जग्गा किनबेच कारोबार बढी हुने उपत्यकाका विभिन्न स्थानमा आफू निकटलाई पठाएको र एउटै व्यक्तिलाई पटकपटक एउटै कार्यालयमा अवसर दिएको आरोप छ ।

टिप्पणीहरू