कृष्णबहादुर महराका छोरा जेलबाट छुट्दै

कृष्णबहादुर महराका छोरा जेलबाट छुट्दै

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका जेठा छोरा राहुल रिहा हुने भएका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्करी आरोपमा गत वर्ष भदौ २३ गते पक्राउ परेका उनी १४ महिनापछि पर्सि मंगलबार छुट्न लागेको पारिवारिक स्रोतले जनाएको छ । पक्राउ परेको एक वर्षपछि असोज २५ गते काठमाण्डौ जिल्ला अदालतको आदेशले राहुल थुनामा पुगेका थिए । 

माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका महरा आफैँ पनि सोही प्रकरणमा गत चैतमा पक्राउ परी पाँच दिनमा छुटेका थिए । त्यसयता  राजनीतिमा सक्रिय छैनन् । 

त्यस्तै,कान्छा छोरा निर्मल महरा (एटम) पनि राजनीति त्यागेर अध्यात्मतिर लागेका छन् । जेठो छोरो थुनामा र कान्छो छोरो गुरुदेवसँग लागेपछि महरा परिवारमा सन्नाटा छाएको थियो । अब राहुल थुनामुक्त हुने भएपछि परिवारमा खुशियाली छाएको छ ।

‘रोल्पाले माया मारेको छैन’

जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सारथि बनेर उभिएका महरा अहिले राजनीतिबाट टाढिएका छन् । खुमलटारस्थित भाडाको घरमा एक्लै बस्दै आएका उनलाई केही दिनअघि रोल्पाको परिवर्तन गाउँपालिकाका केही माओवादी नेता भेट्न पुगेका थिए ।

कान्छा छोरा निर्मल महरा (एटम) पनि राजनीति त्यागेर अध्यात्मतिर लागेका छन् । जेठो छोरो थुनामा र कान्छो छोरो गुरुदेवसँग लागेपछि महरा परिवारमा सन्नाटा छाएको थियो । 

त्यसक्रममा उनले 'रोल्पाले मेरो माया मार्यो’ भन्दै दु:खेसो पोखेको भेटमा सहभागी एक नेताले बताए । ‘अहिलेसम्म के-के भयो के गराइयो, त्यसबारे तपाईंहरुलाई पनि थाहै छ', महराले भनेका थिए, 'तर रोल्पाले किन हो किन माया मार्यो !’

ती नेताका अनुसार महराले घुमाउरो भाषामा रोल्पा घर भएका पार्टी नेताहरु वर्षमान पुन,ओनसरी घर्ती, जोखबहादुर महरा,कुलप्रसाद केसीलगायतसँग असन्तुष्टि पोखेका हुन् । भेट्न जानेहरु ‘रोल्पाले माया मारेको छैन सर,अहिले पनि हजुर हाम्रै गुरु हो’, भनेर  सान्त्वना दिएका थिए । 

महराले आफ्नै पार्टीका रोल्पाली नेताले सोधखोज नगरेकोमा चित्त दुखाए पनि अन्य नेता भने भेट्न पुगिरहेका छन् । दशैंको छेको पारेर नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव खुमलटार पुगेका थिए । 

त्यस्तै,माओवादी नेताहरु जनार्दन शर्मा,शक्ति बस्नेत, राजन दाहाल र हितबहादुर तामाङले पनि भेटेका छन् । एमाले महासचिव शंकर पोखरेल पनि महरालाई भेट्न निवासमै पुगेका थिए ।

टिप्पणीहरू