जब प्रहरीले धनगढीका मेयर गोपीको गाडी रोक्यो

जब प्रहरीले धनगढीका मेयर गोपीको गाडी रोक्यो

- शेरबहादुर ऐर

कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शनिबार राति आफ्नो फेसबुक पेजमा प्रहरीमाथि प्रश्न गर्दै लेखेका छन्, ‘कैलाली जिल्ला प्रहरी ?’

स्पष्ट व्याख्या नगरी लेखिएको उक्त पोस्टमा अहिले आम नागरिकले प्रहरीमाथि नै आक्षेप लगाउने गरी विभिन्न धारणा व्यक्त गरिरहेका छन् । 

हुन त उनले प्रहरीमाथि प्रश्न गर्दै राखेको सो पोष्टले प्रहरीलाई जुवातास खेलाउनेको संरक्षकदेखि ठूला दलको हलिसम्मको संज्ञा दिएको छ । तर,मेयर हमाल किन प्रहरीमाथि एकाएक खनिए ? यसबारे बुझ्दा शनिबार राति उनकी बहिनी सवार सरकारी गाडी प्रहरीले रोकेको र

यही रिसमा उनले प्रहरीमाथि नै प्रश्न उठाएको बताइन्छ । जिल्ला प्रहरी प्रमुख एसपी पदम विष्ट नगर प्रमुख हमालले कुन विषयमा प्रहरीमाथि प्रश्न गरेका हुन् ? भन्नेबारे स्पष्ट नभएको बताउँछन् । 

उनले भने –‘स्टाटस हेरेका छौं । कुन प्रसंगमा हो भन्ने थाहा भएन । तर, शनिबार एकचोटी चौराहामा सरकारी गाडी प्रहरीले रोकेको थियो । त्यो विषयमा हो कि भन्ने पनि सुनिरहेका छौं ।’ 

‘गाडी रोकेको विषयमा उहाँले प्रहरीमाथि प्रश्न गर्नुभएको हो भने असुहाउँदो कुरा हो । के हामीले उहाँको गाडी सोधपुछका लागि रोक्न नै नपाइने हो त ?,’ एसपी विष्टले भने ।

नगर प्रमुख हमालले प्रहरीमाथि उठाएको प्रश्नको स्पष्ट कारण नखुलाउँदा समग्र प्रहरीमाथि नै लाञ्छना लागिरहेको उनको गुनासो छ । ‘गाडी रोकेको विषयमा उहाँले प्रहरीमाथि प्रश्न गर्नुभएको हो भने असुहाउँदो कुरा हो । के हामीले उहाँको गाडी सोधपुछका लागि रोक्न नै नपाइने हो त ?,’ एसपी विष्टले भने । 

हिजो राति धनगढीको चौराहास्थित जिल्ला ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सवारी चेकजाँच गरिरहेको थियो । शनिबार बिदाको दिन समेत हुने भएकाले रातको समय उपमहानगरको गाडी भारततर्फबाट चौराहा आउने क्रममा प्रहरीले रोक्यो । 

सवारी चेकिङ्ग गर्ने क्रममा विदेशबाट फर्किएकी नगर प्रमुख हमालकी बहिनी उपमहानगरको सरकारी गाडी प्रयोग गरेर भन्सारबाट घरतर्फ जाँदै गरेको पाइयो । उक्त गाडी छोड्न ड्युटीमा खटिएका प्रहरी टोलीलाई आदेशसमेत गएको थियो । 

त्यसपछि केही सोधपुछ नै नगरी गाडी छोडिए पनि मध्यराति नगर प्रमुख हमालले प्रहरीमाथि आक्रोश पोख्दै स्टाटस लेखेका हुन् । झण्डै चार हजारले हेरिसकेको उक्त स्टाटसमा चार सय बढीले आफ्नो धारणा व्यक्त गरेका छन् ।

अधिकांशले प्रहरीमाथि नै लाञ्छना लगाएका छन् । एक जनाले लेखेका छन्, ‘नेपाल प्रहरीजस्तो बदनामी कोही नहुने भो । केपी र शेरेका हलिहरु ।’ ‘कैलाली जिल्ला प्रहरी अब तास खेल्ने जुवाडीको सेक्युरिटी हुनुपर्छ । प्रहरीबाट कुनै आशा लाग्दो सुशासन छैन अब जनतामा,’ अर्का एक जनाले भनेका छन् । 

पछिल्लो समय सरकारी गाडीको दुरुपयोग बढ्दो छ । सार्वजनिक बिदाका दिनसँगै कार्यालय समयबाहेक पनि कर्मचारी तथा जनप्रतिनिधिहरुले सरकारी गाडीको दुरुपयोग गरेको पाइन्छ ।  

सार्वजनिक तथा सरकारी बिदाका दिन सरकारी गाडी प्रयोग गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने प्रावधान छ । 

तर, बिदाका दिन समेत अनुमतिबेगर सडकमा खुलेआम गुडिरहेका सरकारी गाडी चेकजाँच गर्दा उल्टै गालीगलौज खेप्नुपरिरहेको प्रहरीको गुनासो छ । 

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नी श्रीमती सवार महानगरको सरकारी प्लेटवाला गाडी बिदाको दिन ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार नै जलाउने धम्की दिएका थिए । 

उनले लेखेका थिए, ‘आजको लागि केही भएन,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

टिप्पणीहरू