लामिछाने समातिएसंगै रास्वपामा नेतृत्वको लफडा

लामिछाने समातिएसंगै रास्वपामा नेतृत्वको लफडा
सुन्नुहोस्

सभापति रवि लामिछानेको रिहाइका लागि एक मतका साथ सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक तोक्ने विषयमा भने कित्ताकाट शुरु भएको छ ।  

सहकारी ठगीमा पक्राउ परेका लामिछाने कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनको गिरफ्तारीविरुद्ध रास्वपा कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।  

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा समातिएका लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा पनि मुद्धा चलाउने तयारीका साथ प्रहरीले अनुसन्धान गरिरहेको छ । बुटवलको सुप्रिम सहकारी घोटालामा पनि अनुसन्धानका लागि अदालतले अनुमति दिइसकेको छ । यसबाहेक काठमाडौँको स्वर्णलक्ष्मीलगायत अन्य सहकारी ठगीमा पनि उनीमाथि अनुसन्धान हुनसक्ने देखिन्छ । 

त्यसकारण लामिछाने तत्काल हिरासतमुक्त हुने सम्भावना छैन । तर,कानुनी राज्य र विधिको शासनको चर्को वकालत गर्ने रास्वपाले अहिलेसम्म कार्यवाहक तोकेको छैन । आन्तरिकरुपमा भने उपसभापति डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालमध्ये कसले कार्यवाहक लिने भन्ने बहस चलिरहेको सो पार्टीका एक नेताले बताएका छन् ।

‘डिपी सरलाई केही थाहै छैन,हावातालमा आफूले आफैलाई कार्यवाहक सभापति भनेर हुन्छ र !  

रविपछिको नेतृत्वमा आ-आफ्नो दाबी गरिरहेका यी दुईको टकरावले नेताहरु दुई खेमामा बाँडिएको र किचलो शुरु भएको एक नेतृले जनआस्थासँगको कुराकानीमा बताइन् । जसका कारण पार्टीभित्र 'अर्याल समूह' कि 'वाग्ले समूह' भन्ने भाष्य स्थापित भएको उनको भनाई छ । 

आफू भने वाग्ले समूहमा रहेको बताएकी उनले नाम नखोल्ने शर्तमा भनिन्, ‘डिपी सरलाई केही थाहै छैन,हावातालमा आफूले आफैलाई कार्यवाहक सभापति भनेर हुन्छ र !’

रास्वपाको संस्थापकमध्येका एक अर्यालले यसअघि पनि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । नागरिकता किर्ते मुद्दामा लामिछानेलाई सर्वोच्च अदालतले दोषी ठहर गरेपछि छोटो समय उनले कार्यवाहक सभापति र संसदीय दलमा नेताको जिम्मेवारी सम्हालेका हुन् । 

ती नेतृका अनुसार उपसभापति अर्याल र वाग्लेबीच मनमुटाव पुरानै हो । लामिछानेले अर्याललाई दोस्रो पटक श्रम तथा रोजगारी मन्त्री बनाएकोमा वाग्ले असन्तुष्ट थिए । यद्यपि 'रवि लामिछाने बचाऊ' अभियानअन्तर्गत आन्दोलनका कार्यक्रम तय गर्न हिजो बसेको केन्द्रीय समिति बैठकमा अर्यालले अध्यक्षता गरे । त्यसमा वाग्ले सन्तुष्ट नरहेको नेताहरु बताउँछन् । 

‘खासमा डिपी सरले हाम्रो आन्दोलनलाई गतिलो नेतृत्व गर्न सक्नु भइरहेको छैन । उहाँकै कारण पोखराको आन्दोलन तुहियो । कम्तिमा काठमाडौँको आन्दोलन नेतृत्व गर्ने जिम्मा स्वर्णिम सरले पाउनुपर्छ’, उनै नेतृले भनिन् । तर, बैठकमा अर्यालले पोखराको प्रदर्शन सफल भएको रिपोर्टिङ गरेका थिए ।     

बैठकले भने अर्यालकै नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ । वाग्लेलाई नागरिक संवादको जिम्मा दिइएको छ । 

उता हिरासतमा रहेका सभापति लामिछाने भने पुस्तक निकाल्ने तयारीका साथ डायरी लेखिरहेको बताइएको छ । कास्की प्रहरीको तेस्रो तल्लामा राखिएका उनले भेट्न आउने नेता,कार्यकर्ता र शुभेच्छुकहरुलाई डायरी लेखिरहेको बताएका हुन् ।

अस्ति सभापति भेटेर फर्किएपछि सांसद सन्तोष परियारले भनेका थिए, ‘उहाँले केही लेख्दै हुनुहुन्छ, इतिहास लेख्दै हुनुहुन्छ,भविष्य लेख्दै हुनुहुन्छ, यो सरकारको अन्याय विरुद्ध लेख्दै हुनुहुन्छ ।’

पछिल्लो समय जिबी राईले पठाएको पत्रको चर्चाले पनि रास्वपापंक्ति तरंगित छ । रविकै कारण आफू फसेको भन्ने व्यहोरायुक्त पत्रले नेताहरु तनावमा परेका हुन् ।

टिप्पणीहरू