कम्युनिष्ट आन्दोलन जोगाउन प्रचण्ड र माधवको यौटै श्वर

कम्युनिष्ट आन्दोलन जोगाउन प्रचण्ड र माधवको यौटै श्वर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा पार्टीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । 

नेपालका सबै कम्युनिष्ट नेताहरुले आत्मसमीक्षा गरेर कमजोरी पत्ता लगाउन सके कम्युनिष्ट आन्दोलनलाई सही दिशामा पुर्याउन सकिने प्रचण्डको तर्क छ । 

‘अब आदर्शका कुरा गरेर हुँदैन, एक ठाउँमा बसौँ, द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गरौँ, देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले कम्युनिष्ट नेताहरुको प्रमुख समस्या भनेकै बोलाइ र गराइमा फरक हुने गरेको अनुभव पनि सुनाउनु भयो । यद्यपि, अझै पनि कम्युनिष्ट जनमत धेरै रहेको उहाँले बताउनुभयो । 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कम्युनिष्ट पार्टीहरु सर्वसत्तावादमा जाने खतरा बढेको बताउनुभएको छ । कम्युनिष्ट नेतामा गल्ती स्वीकार गर्नसक्ने क्षमताको अभाव भएको जिकिर गर्दै उहाँले स्वार्थ प्रवृति हाबी हुँदै गएको उल्लेख गर्नुभयो ।  

‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ, स्वार्थी प्रवृत्ति बढ्दै गएको छ , भ्रष्टीकरण बढ्दै गएको छ ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ, कम्युनिस्ट पार्टीहरु सर्वसत्तावादमा जाने खतरा छ ।’

नेताहरुमा त्यागभन्दा पनि लोभ गर्ने प्रवृति बढेको जनाउँदै उहाँले भन्नुभयो, ‘अहिले के छ भने, मैले के पाएँ भन्ने मात्र छ, नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो ।’

टिप्पणीहरू