विश्व सुन्दरीको घरबार बिग्रन लागेको चर्चा व्यापक
विश्वकै सर्वाधिक सुन्दर महिलाको उपमा पाएकी बलिउड अभिनेत्री ऐश्वर्या रायको घरबार बिग्रिन लागेको खबर छ ।
सन् २००७ मा अमिताभ बच्चनका छोरा अभिषेकसँग लगनगाँठो कसेकी उनको पछिल्लो समय सम्बन्ध चिसिएको भारतीय मिडियाहरुले जनाएका हुन् ।
केही महिनाअघि मुकेश अम्बानीका छोरा अनन्तको बिहेमा ऐश्वर्या र अभिषेक छुट्टा-छुट्टै समयमा पुगेका थिए । वैवाहिक समारोहमा पनि उनीहरुबीच कुनै संवाद भएको देखिएन । त्यहीँ बेलादेखि दुईको सम्बन्धमा खट्पट आएको अड्कल काटिएको थियो ।
दुई साताअघि मात्रै अभिषेकले ‘ऐश्वर्यासँग डिभोर्स गर्दैछु’ भनेको भिडियो क्लिप भाइरल भयो । यद्यपि, त्यसलाई अभिषेकले 'डिप फेक भिडियो' भनेका छन् । अर्थात् एआईको प्रयोग गरेर आफ्नो अनुहार र आवाजको दुरुपयोग गरिएको उनको दाबी छ ।
भारतीय मिडियाले भने यो जोडीले डिभोर्स गर्न लागेको दाबी गर्दै समाचार सम्प्रेषण गरिरहेका छन् । तर, अझैसम्म पुष्टि हुने गरी न अभिषेकले मुख खोलेको छन्, न त ऐश्वर्याले नै ।
यी दुईबीचको सम्बन्धमा दरार आएको चर्चा यो पहिलो पटक भने होइन । ५१ वर्षीया ऐश्वर्या र ४८ वर्षिय अभिषेकबीच उमेर अन्तर, फरक स्वभाव र बानीको कारण कुनै पनि बेला खट्पट् आउन सक्ने कतिपयको पूर्वानुमान थियो । दर्शकहरुले सकेसम्म यो दम्पती मिलेर बसेको हेर्न चाहने इच्छा व्यक्त गरिरहेका छन् ।
ऐश्वर्यासँगको सम्बन्ध विग्रिएको चर्चापछि अभिषेकको नाम अभिनेत्री निम्रत कौरसँग जोडिएको छ । सन् २०२२ मा रिलिज भएको चलचित्र ‘दास्वी’को छायांकनको क्रममा अभिषेक र निम्रत नजिक भएको बताइन्छ ।
निम्रतसँग बिहे गर्न कै लागि अभिषेकले ऐश्वर्याबाट छुटकारा पाउन खोजेको समेत बलिउडमा चर्चा छ ।
टिप्पणीहरू