नेपाल सम्वत ११४५ प्रारम्भ, प्रधानमन्त्री तीन वटै कार्यक्रममा उपस्थित

नेपाल सम्वत ११४५ प्रारम्भ, प्रधानमन्त्री तीन वटै कार्यक्रममा उपस्थित

आजदेखि नेपाल संवत् नयाँ वर्ष ११४५ सुरु भएको छ । ‘राष्ट्रियता र संस्कृतिको निशान, नेपाल संवत् विश्वमा पहिचान’ नाराका साथ नेपाल सम्बत्को नयाँ वर्ष हर्षोल्लासका साथ मनाईंदै छ ।

आजभन्दा ११ सय ४५ वर्षअघि तत्कालीन लिच्छवी राजा राघवदेवको पालामा परोपकारी शंखधर साख्वाले गरिब जनतालाई ऋणमोचन गरिदिएको स्मरणमा यो संवत् प्रचलनमा ल्याइएको हो । आज राजधानीमा नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ललितपुरको मंगलबजार, त्यसपछि भक्तपुरको शंखधर चोक र काठमाडौंको वसन्तपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँले भक्तपुरमा शंखधरको प्रतिमामा माल्र्यापण गर्नुभएको छ । सबै कार्यक्रममा स्थानीय निकायका प्रमुख, प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

आज बिहान वसन्तपुरबाट शुभकामना र्‍याली निकालिएको थियो । मानन्धर गुथीले पनि नेपाल सम्बत् ११४५ को अवसरमा सीतापाइला चोक र स्वयम्भू वरपर मोटरसाइकल र्याली निकालेको थियो । बालाजुको श्वेत विनायकबाट निकालिएको भिन्तुना र्याली बाइसधारा पुगेर समापन भएको बताइन्छ । 

आज काठमाडौंको चावहिल, सिफल, पशुपति क्षेत्रमा पनि भिन्तुना र्‍यालीको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापा सहभागी हुनुभएको बताइन्छ । 

शंखधर साख्वालाई २०६० सालमा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवत्लाई सरकारी प्रयोजन र कागजातमा पनि प्रयोग गर्न थालिएको छ ।

टिप्पणीहरू