प्रधानमन्त्रीले 'पूर्णबहादुरको सारङ्गी' हेर्ने

प्रधानमन्त्रीले 'पूर्णबहादुरको सारङ्गी' हेर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न रहर गर्नुभएको छ ।   

नेपाली मौलिक कथावस्तुमा बनेको 'पूर्णबहादुरको सारङ्गी' ले सामाजिक परम्परा र व्यावसायिकताको आवाज उठाएको जनाउँदै उहाँले आज सामाजिक सञ्जालमार्फत अनुकूलता मिलाएर फिल्म हेर्न जाने बताउनुभएको हो । चलचित्र हेर्न निम्तो आएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले निर्माता र कलाकारलाई बधाई पनि दिनुभएको छ । 

‘फिल्मले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तरद्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु, अनुकूलता मिले फिल्म हेर्ने छु’, उहाँले लेख्नुभएको छ । 

लक्ष्मीपूजाको दिनदेखि प्रदर्शन भएको यस चलचित्रले दिनप्रतिदिन राम्रो पिकअप लिइरहेको छ । शुरुको दुई दिन औसत व्यापार गरेको चलचत्रिले ‘वर्ड अफ माउथ’को आधारमा राम्रो अकुपेन्सी बढाएको छ । 

चलचित्रमा ०३९ देखि ०६३ सालबीचको जात व्यवस्था र त्यसले बनाएको वर्गीय खाडलको कथालाई प्रस्तुत गरिएको छ । कलाकार विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल लगायतको फिल्ममा अभिनय छ ।

टिप्पणीहरू