ज्यान मार्ने उद्योगमा दोषी ठहर पूर्वमन्त्री आत्मसमर्पणको तयारीमा
गुण्डा नाइकेको परिचय बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आत्मसमर्पण गर्ने भएका छन् ।
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय तोक्ने तल्लो अदालतको फैसला सदर गरेलगत्तै सम्पर्कविहीन रहेका उनले आज विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् । फैसलाको पूर्णपाठ प्राप्त भएपछि आफैँ अदालतमा उपस्थित हुने उनले बताएका छन् ।
‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहान्छुु,’ मनाङेले भनेका छन् । अदालतको फैसला आफूलाई मञ्जुर रहेको उल्लेख गर्दै उनले मिडियाले गलत टिकाटिप्पणी गरेको जनाउँदै आक्रोश पोखेका छन् ।
‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चार माध्यमहरुबाट तारन्तार आइरहेका कलले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको छुु, उनले भने, ‘यहि विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा भ्रामक समाचार सम्प्रेषण न भैरहेको पाएको छु । यसप्रति मेरो आपत्ति छ ।’
अहिलेसम्म फैसलाको संक्षिप्त पाठ प्राप्त नगरेको बताउँदै मनाङेले अगाडि भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्दामा कात्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत् थाहा पाएको हुँ, उनले भनेका छन्, ‘सो पश्चात मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको जानकारी आयो ।’
सर्वोच्चको फैसलासँगै मनाङेको सांसद पद पनि निलम्बनमा पर्ने भएको छ । निर्वाचनसम्बन्धी ऐनमा फौजदारी कसुरमा अदालतबाट सजाय तोकिएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ ।
ऐनको दफा १३ मा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने प्रष्ट उल्लेख छ ।
टिप्पणीहरू