थुनामा पठाइएका मेयरलाई कास्की ल्याइयो

थुनामा पठाइएका मेयरलाई कास्की ल्याइयो
सुन्नुहोस्

सहकारी ठगी अभियोगमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । 

सहकारीको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्न बागलुङबाट त्यता लगिएको हो । नेपालीलाई आज बिहान पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

बचतकर्ताको डेढ अर्ब कुम्ल्याएर भागेका नेपाली गत असोज ११ गते भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए । जिल्ला अदालत, बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। 

उनले आफू अध्यक्ष रहेर बागलुङ र पोखरामा इमेज बचत तथा ऋण सहकारी संस्था दर्ता गरेका थिए । उनीविरुद्ध बचतकर्ताले बागलुङसहित पोखरामा पनि जाहेरी दिएका थिए । 

नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।
 

टिप्पणीहरू