‘पूर्णबहादुरको सारङ्गी’ लाई दिनहुँ २ करोड

‘पूर्णबहादुरको सारङ्गी’ लाई दिनहुँ २ करोड
सुन्नुहोस्

नेपाली चलचित्र वृतमा एउटा भनाई छ– सिनेमाको पैसा, भगवान भरोसा । अर्थात्, कुन चलचित्रले कति कमाउँछ ? त्यो धेरैलाई थाहा हुँदैन । राम्रो आम्दानी गर्नसक्ने अनुमान गरिएका चलचित्र सुपर प्लप र नसोचिएको चलचित्र सुपरहिट भएका कैयौं उदाहरण छन् । 

यतिबेला नेपाली हलहरुमा आक्रामक ढंगले व्यापार गरिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ त्यस्तै एउटा उदाहरण बनेको छ । कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शन भएको चलचित्रले दुई साता नबित्दै ऐतिहासिक रेकर्ड बनाएको छ । 

पछिल्लो ११ दिनमै २० करोड ६० कलेक्सन गरेको जानकारी दिइएको छ । यसअघि नेपाली चलचित्रको इतिहासमा कुनै पनि चलचित्रले यति छोटो समयमा यति धेरै कमाएका थिएनन् । चलचित्र अझै प्रदर्शनको क्रममा रहेकाले कलेक्सन बढ्ने निश्चित छ । 

सोसल ड्रामा जनराको यस चलचित्रमा खासगरी बाबु–छोरोको सम्बन्ध र संघर्षलाई चित्रण गरिएको छ । प्रदर्शनको पहिलो दिन हल सञ्चालकहरुले चलचित्रलाई नपत्याएर देशभर ९० पर्दा मात्रै दिएका थिए । तर चलचित्रले बलियो ‘वर्ड अफ माउथ’को कारण राम्रो क्रेज बनाएपछि अहिले तीन सयभन्दा बढी पर्दा पाएको छ । 

चलचित्र हेरेका अधिकांश दर्शकहरु आँशु पुछ्दै हलबाट बाहिर निस्केको तस्बिर÷ भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । सायद त्यसैले होला, प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केही दिनअघि यसको पोस्टर सेयर गर्दै प्रशंसा गर्नुभएको थियो । चलचित्रमा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइली लगायतको अभिनय छ ।

टिप्पणीहरू