चिया पसलमा घुस लिँदालिँदै अदालतका कर्मचारी च्याप्पै

चिया पसलमा घुस लिँदालिँदै अदालतका कर्मचारी च्याप्पै

मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका कपिलवस्तु जिल्ला अदालतका ४ जना कर्मचारी रङ्गेहात समातिएका छन् । 

अदालतको तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन् । अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए । सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए ।

 

विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा रकम फेला परेको बताइएको छ । पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ । 

रुपन्देहीको भैरहवा घर भएका तहसिलदार सन्तोष मिश्रामाथि यसअघि पनि पटक-पटक सेवाग्राहीलाई दु:ख दिएको आरोप थियो । यसबारे अदालतका श्रेस्तेदार हेमन्त ज्ञवाली र न्यायाधीशसमक्ष गुनासो गर्दा पनि उनीमाथी कुनै कारवाही गरिएको थिएन ।

टिप्पणीहरू