दीपक मनाङेलाई जेल रोज्ने सुविधा, सदरखोरको सुविधाजनक ब्लक छनौट
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सदरखोर डिल्लीबजारको ‘ख’ ब्लकमा राखिएको छ ।
कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए । लगत्तै फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत पुर्याइएका मनाङेलाई अपरान्ह डिल्लीबजार कारागार लगिएको हो ।
मनाङेलाई राखिएको ‘ख’ ब्लकमा अन्य १४५ कैदीले पनि सजाय भुक्तान गरिरहेका छन् । कारागारको ‘क’ ब्लकमा साढे चार सय बढी कैदी बन्दी छन् । त्यहाँ बढी हो–हल्ला हुने भएपछि उनी आफैँले उक्त ब्लक रोजेको जेलर पूर्णबहादुर खत्रीले जानकारी दिए ।
त्यसो त, अधिकांश ‘भिआइपी कैदी’हरुको रोजाई कारागारको ‘ख’ ब्लक नै पर्ने गरेको पाइन्छ । तर, यथार्थमा भने कारगारभित्र सबैलाई समान सेवा–सुविधा हुने जेलर खत्री बताउँछन् । उनका अनुसार हिरासतमा व्यक्तिअनुसार फरक सेवा सुविधा हुन सक्छ, तर ‘भिआइपी’ र ‘कमन’ भनी छुट्याएर अलग व्यवहार गरिँदैन ।
‘भिआइपी भन्ने बाहिरको कुरा मात्रै हो’, उनले जनआस्थासँग भने, ‘भित्र हल छन् । सानो हलमा २० जना अटाउँछन्, ठूलो हलमा ३०–४० जना । सबै बस्ने, सुत्ने त्यहिँ हो ।’
मनाङेसहितका कैदीहरुका लागि कारगारभित्र टिभी हेर्न, पत्रिका तथा पुस्तक पढ्न, सामान्य व्यायामको सुविधा दिइएको छ । यदि कोही बिरामी भइहालेमा सरकारी चिकित्सक पुगेर उपचार गर्छन् । आवश्यक परे कारगार बाहिरका नीजि अस्पतालमा गएर पनि उपचार गराउन सक्छन् ।
तर, त्यसको खर्च भने कैदी स्वयम्ले व्यहोर्नुपर्ने जेलर खत्रीले जानकारी दिए । थपे, ‘उनीहरुलाई हाम्रो उपचार मन परेन, चित्त बुझेन भने सुरक्षाकर्मीसहित बाहिर जान पनि सक्छन् । खर्च उनीहरुले नै व्यहोर्नुपर्छ ।’
मनाङेलाई राखिएको उक्त ब्लकमा अन्य केही चर्चित मुद्दाका कैदीहरु पनि छन् । बचतकर्ताको आठ अर्ब हिनामिना गरेको कसुरमा मुद्दा चलाइएका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा हाम्रो सगरमाथा सहकारीका सञ्चालक केबी उप्रेतीलाई पनि पूर्पक्षको लागि त्यहिँ राखिएको छ । त्यस्तै, भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पनि त्यहाँ छन् ।
सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवम् सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई भने ‘क’ ब्लकमा राखिएको छ ।
टिप्पणीहरू