निर्मला काण्डका ‘प्रत्यक्षदर्शी’ पक्राउ
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको छ ।
उनीमाथि आवश्यक सोधपुछ भइरहेको सिआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘अर्याल हाम्रो कस्टडीमा छन् । सोधपुछ भइरहेको छ ।’
प्राइम टेलिभिजनबाट सोमबार राति प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अर्यालले आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी रहेको दाबी गरेका थिए । सिआइबीका प्रवक्ता बोगटीले भने उनले अन्तवार्तामा बोलेका कुराहरु सबै झुठ रहेको बताए ।
अर्यालको दाबी घटनासँग मेल नखाने उनको भनाइ छ । ‘उनको बयान घटनाको प्रकृतिसँग मेल खाँदैन । त्यसमाथि उनको मानसिक अवस्था पनि ठीक नरहेकोजस्तो देखिन्छ,’ एसपी बोगटीले भने, ‘उनले किन यस्तो भने भनेर हामी सोधपुछ र अनुसन्धान गरिरहेका छौं ।’
गोरखा घर भएका अर्याल ३० वर्षसम्म सवारी चालकका रुपमा सरकारी जागिर खाएको अन्तवार्तामा बताएका छन् । तत्कालीन खानेपानीमन्त्री बिना मगरको गाडी चलाउने आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुदैँ गरेको देखेको दाबी गर्दै उनले आफ्नो सुरक्षाको ग्यारेन्टी गरिएमा घटनामा संलग्न तीन जनाको नाम बताउने बताएका थिए ।
उनले भनेका थिए, ‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस् । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’
अन्तर्वार्ता लिने धमलालाई पनि सिआईबीले सोधपुछ गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू