आरजुको स्वागतका लागि फूलमालासहित बसपार्कमा भेला हुन सूचना
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागत गर्न नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले पार्टीपंतिलाई निर्देशन दिएको छ ।
जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ । त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो ।
स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘...महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, क्रियाशिल सदस्यहरु र आस्थावान महानुभावहरुमा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।’
मन्त्रीको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्ला सभापतिले सूचना निकालेकोप्रति केही पालिका सदस्यहरुले भने असन्तुष्टि जनाएका छन् । गन्यापधुरा गाउँपालिकाका एक सदस्य भन्छन्, ‘फूलमाला त आफ्नो इच्छाले लगाइदिने पो हो त । जसरी पनि ल्याउनुपर्छ भन्दा शोभनीय देखिएन । अरु जान्छन् होला, म त जादिनँ ।’
टिप्पणीहरू