गाईगोरु तस्करविरुद्ध धमाधम मुद्दा
कपिलवस्तुको सीमावर्ती विभिन्न खुला नाका हुँदै भारतीय गाउँबाट गाईगोरु नेपाल भित्र्याउने तस्करविरुद्ध प्रहरीले धमाधम मुद्दाचलाउन थालेको छ ।
भारतबाट लुकिछिपी गाईगोरु नेपाल ल्याउने र चरम यातना दिँदै अवैध ओसारपसार गर्ने गिरोहलाई नियन्त्रणमा लिई मुद्धा चलाउन थालिएको हो । पछिल्लो एक सातामा मात्रै कपिलवस्तु प्रहरीले आठ ८ जनालाई पक्राउ गरि पशुपन्छीको अवैध ओसारपसार सम्बन्धी कसुरमा मुद्दादर्ता गरेको छ ।
कपिलवस्तुमा पछिल्लो समय गाईगोरुको तस्करी झन मौलाइरहेको छ । गएराति मात्रै वडा प्रहरी कार्यालय चन्द्रौटाले गोरु लोड हुँदै गरेको अवस्थामा ना ६ ख ३३४८ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
गोरुको नाक र पुच्छर डोरीले बाँधेको, सिङबाट रगत बगेको र केही गम्भीर घाइते अवस्थामा उद्धार गरि छाडिएको र चालक निजगढ-१ बाराका देव थोक्करसहित सुकलाल बोलनलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए ।
गाडीसहित नियन्त्रणमा लिइएका दुबैलाई पशुपंक्षीलाई निर्दयी व्यवहार गरेको कसूरमा मुद्धा चलाउने प्रहरीको तयारी छ । जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वडा प्रहरी कार्यालय तौलिहवाले हिजो बिहान ४ बजे चौबिस हजार चोकबाट गोरु लोड गरेको ना ६ ख १३०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा झापा लैजान लागेका ३१ वटा गोरु ट्रकभित्र बाँधेको अवस्थामा भेटिएको थियो ।
ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-१० का भीमबहादुर तितुङलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए ।
मंगलबार राति ईलाका प्रहरी कार्यालयले गोरुसहित एउटा ट्रक नियन्त्रणमा लिएको थियो । नियमित चेकजाँचको क्रममा २४ वटा गोरु लोड गरेर झापा लैजाँदै गरेको बा प्र.०३–००१ ख १९९२ नम्बरको ट्रक र त्यसमा रहेका ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गोरुलाई यातना हुनेगरी पुच्छर बाँधी झुण्ड्याएको र नाकबाट रगत बगेको अवस्थामा उद्धार गरिएको र विराटनगर-३ का हेमु श्रेष्ठ, रमेश श्रेष्ठ, सुनसरीको कुशहा-१३ का इरशाद आलम र समिम आलमविरुद्ध मुद्धा दायर गरि सात दिनको म्याद थप गरिएको छ ।
कपिलवस्तु प्रहरीले त्यसअघि कात्तिक २३ गते बाराको निजगढ नगरपालिका-४ बस्ने कमल धामीलाई २१ वटा गोरु झापा लैजाँदै गर्दा समातेको थियो । ईलाका प्रहरी कार्यालय गणेशपुरले बिहान ४ बजे ना ६ ख ३७०८ नम्बरको ट्रकमा यातना दिएर राखिएका गोरुसहित उनलाई नियन्त्रणमा लिएको हो ।
निरन्तरको प्रयासपछि पनि तस्करी नियन्त्रणमा आउन नसकेपछि प्रहरीले मुद्धा चलाउन थालेको हो । यसअघि कानूनी जटिलताका कारण पक्राउ परेका तस्कर छुट्दै आएका थिए । अब भने मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ दफा २९० अन्तर्गत मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।
तस्कर पक्राउपछि राजस्व र भन्सारले लिन नमान्ने, भाडाको गाडी छाड्नुपर्ने, गाईगोरु धनी सर्कान नआउने जस्ता समस्याले तस्करी नियन्त्रण हुन नसकेपछि मुद्धा प्रक्रियामा जानु परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु दोषी ठहर भए पशुपंक्षीलाई निर्दयी व्यवयहारअन्तर्गत ३ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुबै हुने सजाय हुने व्यवस्था छ ।
टिप्पणीहरू