सरकारलक्षित माधव नेपालको संकेत : कुरा धेरै, काम थोरै
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको मूल समस्या राजनीतिक अस्थिरता नभएको दाबी गर्नुभएको छ । पार्टी मुख्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा उहाँले त्यस्तो धारणा व्यक्त गर्नुभएको छ ।
कामभन्दा कुरा बढी गर्ने प्रवृत्ति मुलुकको मुख्य समस्या भएको अध्यक्ष नेपालको भनाई छ । २०५१ सालमा नौ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै उहाँले त्यसबेला गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो । नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताउँदै राजनीतिक अस्थिरताकै कारण देश विकास भएन भन्न नमिल्ने उहाँको तर्क छ ।
‘आफ्नो गाउँ, आफैँ बनाऔं’ देखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्बासी परिवारलाई जग्गा बाँडिएका जस्ता उदाहरणीय काम गरेर देखाएको जनाउँदै अध्यक्ष नेपालले काम गर्नेका लागि नौ महिना काफी हुने बताउनुभयो । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्गको निर्माण प्रारम्भ आफू नेतृत्वको सरकारले गरेको उहाँको दाबी छ ।
अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दोहोर्याउँदै गणतन्त्र प्राप्तिमा आफ्नो भूमिकाको चर्चा गर्नुभयो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम उच्चारण नगरी भन्नुभयो, ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । विरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन, घटाउने काम गरिरहेका थिए ।’
अध्यक्ष नेपालले राजनीतिक अस्थिरता मुलुकको समस्याको मूल कारक होइन भनिरहँदा आजै एमाले महासचिव शंकर पोखरेलले भने विपरित धारणा राख्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले थ्रेसहोल्डको सीमा बढाएर साना पार्टीहरुलाई नियन्त्रण नगरेसम्म स्थिरता कायम नहुने दाबी गर्नुभएको हो ।
एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याताका रुपपा प्रचारित शंकर दुईदलीय प्रणालीको वकालतकर्ता पनि हुनुहुन्छ । साना पार्टीलाई नामेट नपारेसम्म स्थिरता नहुने र स्थिरता नभए देशले तरक्की नगर्ने उहाँको धारणा रहँदै आएको छ ।
टिप्पणीहरू