चीनसँग कुरा मिलाउन ताक्लाकोट चलान

चीनसँग कुरा मिलाउन ताक्लाकोट चलान

उत्तरी छिमेकी चिनियाँ प्रशासनसँग समन्वय बैठक गर्न दार्चुलाका सिडिओसहित जनप्रतिनिधिहरूको टोली ताक्लाकोट प्रस्थान गरेको छ ।

दुई देशको स्थानीय प्रशासनबीच छ वर्षपछि यस्तो बैठक हुन लागेको हो। बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत पहिलोपटक सहभागिता हुँदैछ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटस्थित स्थानीय प्रशासनका तर्फबाट निमन्त्रणमा आएपछि नेपाली टोली आइतवार (कार्तिक २५ गते) हिँडेको हो। नोभेम्बर १३ र १४ अर्थात कार्तिक २८ र २९ गते समन्वय बैठक निर्धारण गरिएको छ ।

दार्चुलाका प्रजिअ यज्ञराज जोशीसहितका सुरक्षा अधिकारी र तीन स्थानीय तहका प्रमुखहरू बैठकमा सहभागी हुनेछन्। यसका लागि गृह मन्त्रालयबाट लिखित स्वीकृति प्राप्त भएको निमित्त प्रजिअ हेमन्ती साउदले बताउनुभयो। यसअघि २०७५ भदौंमा ताक्लाकोटमै आयोजना गरिएको थियो। बैठक चीनिया पक्षले आयोजना गर्ने र नेपाली पक्षले सहभागिता जनाउने गरिएको छ । कोभिड महामारीका कारण चार वर्षसम्म नेपाल र चीन जोड्ने टिंकर नाका बन्दभएपछि दुई देशका सरकारी अधिकारीबीच कुनै सम्पर्क हुन सकेको थिएन ।

गत साउन पहिलो साता उक्त नाका खुलेपछि नेपालतर्फका स्थानीय वासिन्दाले चार बर्षपछि ताक्लाकोट पुग्न पाएका छन्। ताक्लाकोट बजारसंग जोड्ने नाका सुचारु गर्न अध्यागमन कार्यालय स्थापनाको निर्णय गरिएको छ । पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनका लागि टिंकर नाकामा अध्यागमन कार्यालय स्थापनाको माग लामो समयदेखि हुँदैआएको थियो। हाल रसुवागढी नाका भएर कैलाश यात्रा सञ्चालन भइरहँदा एउटा यात्रुले डेढ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । टिंकर नाकाबाट ५०–६० हजार रुपैयाँमै कैलाश यात्रा गर्न सकिने सरोकारवालाहरू बताउँछन्।

बैठक चीनसँग, बाटो भारतको

ताक्लाकोटमा चिनियाँ पक्षसंग समन्वय बैठक गर्न नेपाली टोलीले भारतीय बाटो प्रयोग गरेको छ । महाकाली नदीको किनारैकिनार पञ्चायतकालमा निर्माण गरिएको पैदलबाटो क्षतविक्षत भएपछि भारतीय प्रशासनको अनुमति लिएर नेपाली पक्षले उतैको मोटरमार्ग प्रयोग गरेको छ । निमोनियाबाट बचौं र बचाऔं ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू