एमालेका उम्मेदवारलाई रुख चिन्ह, जिससमा काँग्रेसलाई एकलौटी

एमालेका उम्मेदवारलाई रुख चिन्ह, जिससमा काँग्रेसलाई एकलौटी
सुन्नुहोस्

निर्वाचनमा कसैसँग तालमेल वा गठबन्धन नगर्ने दाबी गर्दै आएका दुई ठूला दल नेपाली कांग्रेस र एमाले आसन्न स्थानीय तह उपचुनावमा मिलेर लड्न तयार भएका छन् । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रको बलियो प्रभाव रहेको रुकुम-पश्चिमको पुथा उत्तरगंगा गाउँपालिकामा दुई दलले साझा उम्मेदवार उठाएका हुन् ।

गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को  वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । २०७९ को स्थानीय तह निर्वाचनमा दुवै माओवादीले जितेको थियो । एक्ला-एक्लै लड्दा यसपटक पनि परिणाम उल्ट्याउन नसक्ने भएपछि एमाले र कांग्रेसले यौटै चिन्हमा चुनाव लड्ने रणनीति अपनाएका हुन् । 

दुई दलीय जिल्ला संयन्त्रको निर्णयअनुसार गाउँपालिकाको उपाध्यक्षमा एमालेकी केसकुमारी तुलाचनलाई रुख चिन्हमा उम्मेदवार बनाइएको छ । काँग्रेसको चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी उनी एमाले जिल्ला कमिटीकी उपसचिवसमेत हुन् । 

त्यस्तै, वडा नम्बर २ मा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका साझा उम्मेदवार बनेका छन् । उनी भने सूर्य चिन्हमै उठ्ने सहमति दुई दलको छ । 

माओवादी केन्द्रले उपाध्यक्षमा ज्ञानदेवी वुन र वडाध्यक्षमा जगत घर्तीलाई उम्मेद्वार बनाएको छ । 

सुवारी दुर्घटना परेर निधन भएका यसअघिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर श्रीपाली माओवादीबाट निर्वाचित भएका थिए । बुढाले ४ हजार ५८ मतसहित कांग्रेसकी कुमारी मल्ललाई पराजित गरेकी थिइन् । श्रीपालीले २३४ मत ल्याएर जित्दा कांग्रेस उम्मेदवार दोस्रो भएका थिए । 

ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेस-एमालेबीच तालमेल गर्ने सहमति भएको छ । जसअनुसार दुबै जिसस प्रमुखमा एमालेले कांग्रेस उम्मेदवारलाई सघाउनेछ ।

टिप्पणीहरू