दुर्गा प्रसाईंलाई अदालतमा उभ्याउनुअघि अस्पतालमा सुताइयो
प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसार्ईंलाई म्याद थपको लागि अदालत लैजानुअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अस्पताल पुर्याएको छ ।
भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य जाँचको क्रममा महाराजगञ्जस्थित चिरायु अस्पताल लगिएको छ।
अस्पतालमा उनको स्वास्थ्य जाँच गरेपछि काठमाडौं जिल्ला अदालत, बबरमहल पुर्याउने प्रहरीको तयारी छ । अहिले अस्पतालमा आवश्यक सबै जाँच गरिँदै छ ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली ३२ अर्ब) लगानी गरेको दावी गर्दै केही डकुमेन्टहरु सार्वजनिक गरेका थिए । ती सबै डकुमेन्ट फेक भएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
किर्ते कागजात तयार पारेर प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुविरुद्ध भ्रामक खबर फैलाएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार प्रसाईंले सार्वजनिक गरेका कुनै पनि डकुमेन्टमा सत्यता देखिँदैन । ‘उहाँले प्रधानमन्त्री मात्रै होइन, अन्य विशिष्ट व्यक्तिहरुविरुद्ध पनि भ्रम फैलाउनु भएको छ’, जनआस्थासँग भने, ‘अहिले डकुमेन्ट भन्दै बाहिर ल्याइएका कागजात सबै फेक हुन्, यसमा संलग्न अरुलाई पनि खोज्दैछौं ।’
प्रसाईविरुद्ध विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरीको तयारी छ । किर्ते कागजात र मानहानीको कसुरमा पनि मुद्दा चलाउन सकिने अनुमान छ ।
केही युटुबरहरुले प्रसाईंले उपलब्ध गराएको फेक डकुमेन्टलाई भाइरल बनाएका छन् । उनीहरुले सामान्य तथ्य जाँचसमेत गरेको पाईंदैन । प्रधानमन्त्रीको नागरिकतामा वास्तविक नाम के.पी. शर्मा (ओली) कायम छ, तर प्रसाईंले फैलाएको कागजातमा खड्ग प्रसाद ओली (केपी ओली) लेखिएको छ । त्यस्तै, प्रधानमन्त्रीको वास्तविक हस्ताक्षर र उक्त कागजातको हस्ताक्षर पनि नमिलेको प्रहरीले बतायो ।
टिप्पणीहरू